२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर छानविनका लागि मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा कार्यदल गठन

लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर छानविनका लागि मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा कार्यदल गठन


बुटवल—लुम्बिनी प्रादेशिक अस्पतालको विवादित टेन्डरका विषयमा छानविन गर्नका लागि मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन भएको छ । समितिले अस्पतालको भवन निर्माणका क्रममा बोलपत्रका विषयमा के भएको हो, भन्ने बारे अध्ययन अनुसन्धान गरी १५ दिन भित्र प्रतिवेदन पेश गर्नेछ ।

छानविन समितिमा कानुन सचिव राजेन्द्र थापा र ग्रामीण शहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने सदस्य रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । ‘मुख्यमन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेको छ । यो छानविन समितिले स्वतन्त्र रुपमा सबै विषय अध्ययन गरी प्रतिवेदन गर्नेछ,’ उनले भने ।

कार्यदललाई प्रादेशिक अस्पतालको भवन निर्माण सम्बन्धि टेण्डर प्रक्रिया बारेमा भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययनपछि प्रतिवेदन पेश गर्ने जिम्मेवारी छ । विवाद सार्वजनिक भएपछि टेण्डर प्रक्रिया रद्ध भइसकेको छ । ‘त्यहाँ के भएको छ, बाहिर उठेका विषयकाबारे र कानुनी प्रक्रियाका बारेमा गहिरो अध्ययन गर्दछाैं । अध्ययनपछि रिपोर्ट बुझाउने छाैं,’ समितिका संयोजक श्रीकृष्ण सुवेदीले भने ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले यसअघि नै विवाद भएको भन्दै पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता भएको छ । ‘उहाँले आफ्नो राजीनामा पत्र कार्यालयमा पठाउनुभएको थियो । अधिकृत अष्टराज न्यौपानेले भने, ‘पत्रलाई दर्ता गरी प्रक्रियामा अगाडि बढेको छ ।’

घिमिरेलाई प्रदेश मन्त्रिपरिषदको निर्णयबाट २०७८ असोज २० गते नियुक्ति गरेको थियो । उनले चैत्र १४ गते राजीनामा दिएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ