२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश१९ करोडमा बुद्धभूमीमा १५ बेडको सुविधासम्पन्न सरकारी अस्पताल बन्दैं

१९ करोडमा बुद्धभूमीमा १५ बेडको सुविधासम्पन्न सरकारी अस्पताल बन्दैं


बुटवल—कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा १९ करोड बढी लागतमा १५ बेडको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको छ । नगरपालिकाकै गौरवाको आयोजनाअन्तर्गत बजेटको व्यवस्थापन गरी नयाँ बन्ने भवनको शिलान्यास समेत गरिएको छ ।

नगरपालिका २ बडहरामा आधारभूत तहको अस्पताल बन्ने भएपछि स्थनीयमा गाउँमै उपचार पाउने आशा पलाएको छ । ‘हामी सामान्य बिरामी हुँदा पनि उपचार पाउने अवस्थामा छैनौँ । अस्पताल बन्यो भने त हाम्रो हुन्थ्यो’, स्थानीय ३४ वर्षीय मोहम्वत हबीवले भने, ‘धेरै आशा पलाएको छ ।’

सामान्य उपचारमा समेत समस्या हुने गरेको बुद्धभूमीमा नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले पूजापाठ नै गरी निर्माण हुने भवनको फाउन्डेसनमा ५ वटा ढुंगा राखेर शिलान्यास गरे । यसरी उद्घाटन भएको अस्पताल निर्माण भएर सेवा पाउने अपेक्षामा स्थानीय छन् ।

बुद्धभूमी नगरपालिकाले १९ करोड १० लाख लागतको अस्पताल निर्माण सुरु गरिएको छ । स्थानीयस्तरमा उपचारका लागि समस्या हुने गरेको भन्दै नगरपालिकाकै गौरवको आयोजनाका रुपमा अस्पतालको निर्माण कार्य अघि बढेको नगरप्रमुख श्रेष्ठ बताउँछन् । अस्पताल निर्माण भएपछि नगरपालिकाले स्वास्थ्य सेवामा उल्लेख्य सुधार हुने उनको विश्वास छ ।

सामान्य उपचारका लागि पनि यस क्षेत्रका स्थानीयहरुलाई जिल्लाको कपिलवस्तु नगरपालिका, छिमेकी जिल्ला रुपन्देही वा भारत जानुपर्ने बाध्यता छ । अस्पताल निर्माण सम्पन्न भएर संचालनमा आएमा त्यो समस्याको समाधान हुने विश्वासमा स्थानीय रामरमण हरिजन छन् ।

दुई तले लिफट प्रणालीको भवनमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसीलगायतका सेवासहितको अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको छ । ‘सुविधासम्पन्न आधुनिक भवनको डिजाइनअनुसार काम सुरु भएको छ’, नगरपालिकाका इन्जिनियर कुशल घिमिरे भन्छन्, ‘भवन निर्माण भएपछि सुविधासम्पन्न तरिकाले नै सेवा वितरण हुन्छ ।’

दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अस्पतालमा अप्रेशन थिएटर, एक्सरे, पुरुष र महिलाको छुट्टाछुट्टै वार्डसमेत रहनेछ ।

लामो समयदेखि हस्पताल निर्माण गर्ने भनिए पनि सुरु हुन सकेको थिएन । नगरवासीको धेरै वर्षदेखिको प्रतीक्षा अब भने पूरा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीले बताए । ‘नगर क्षेत्रभित्र निर्माण हुने अस्पतालले नगरवासीहरुसँगै आसपासका क्षेत्रका जनतासमेत लाभान्वित हुनु हुनेछ,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ