२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा टाइफाइड विरुद्धको खोप अभियान सुरू

बुटवलमा टाइफाइड विरुद्धको खोप अभियान सुरू


बुटवल—बुटवल उपमहानगरपालिकामा टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । उपमहानगरपालिकाको आफ्नै खोप भण्डारण केन्द्रमा रहेको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अभियानको शुभारम्भ गरे ।

बालबालिका लक्षित खोप कार्यक्रमलाई संवेदनशील रुपमा सञ्चालन गर्न कर्मचारीलाई सुवेदीले निर्देशन दिए । ‘हामी स्वास्थ्यका क्षेत्रमा संवेदनशील छौँ । सोहीअनुरुप खोप अभियानलाई जिम्मेवारीका साथ सन्चालन गर्नेछौँ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु पनि सोहीअनुरुप परिचालित हुनु हुनेछ ।’

पहिलो दिन मंगलबार मात्रै बुटवलका २७ केन्द्रमा १५ महिनादेखि २३ महिनाका करिब चार सय र २ वर्षभन्दा माथि १५ वर्षसम्मका ९ हजार ६ सय बालबालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले जानकारी दिइन् । बुटवलका यो उमेर समूहका ३७ हजार ७ सय ९३ जना बालबालिका छन् ।

ती सबै बालबालिकालाई लक्षित गरी टाइफाइड विरुद्धको खोप लगाउन लागिएको भट्टराईको भनाइ छ । ‘उपमहानगरपालिका भित्रका उमेर समूहमा पर्ने बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ काम सुरु गरेका छौँ,’ उनले भनिन् ।

खोप अभियान चैत्र २७ गतेसम्म संचालन हुनेछ । यो खोप अभियानका लागि ८० जना स्वास्थ्यकर्मी खटिने उपमहानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि उपमहानगरपालिकाका १९ वटै वडामा स्वास्थ्यकर्मी खटाउने गरी संयन्त्र निर्माण भएको भट्टराईको भनाइ छ । ‘उपमहानगरका सबै वडाहरुमा स्वास्थ्यकर्मी कटिनुहुनेछ । पायक पर्ने स्थानमा लक्षित उमेर समूहका बालबालिकालाई अनिवार्य खोप लगाउनुपर्छ,’ उनले भनिन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ