२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी लुम्बिनी प्रादेशिक अस्पतालमा काम गर्न पाउने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी लुम्बिनी प्रादेशिक अस्पतालमा काम गर्न पाउने


बुटवल—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आएर काम गर्न पाउने भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच अध्ययन–अध्यापन सम्बन्धी सम्झौता भएसँगै विद्यार्थीहरुले सो अवसर पाउने भएका हुन् ।

पहिलो चरणमा ३ जना एमडीजीपी विद्यार्र्थीहरु आउनेछन् भने क्रमसः नर्सिङ, एमडी÷एमएस अध्ययन गर्ने विद्यार्थीहरु पनि आउने मार्ग खुलेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए । ‘अध्ययन–अध्यापनका लागि सहज हुने गरी समझदारी भएको छ,’ उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनमा रहनेहरुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा काम गर्न सहज हुनेछ ।’

समझदारी पत्रमा दुवै अस्पतालका प्रमुखहरुले हस्ताक्षर गरेपछि विद्यार्थीहरुका लागि नयाँ अवसर सिर्जना भएको छ । यो सम्झौताले बिरामीले सहज र छिटो सेवा पाउनुका साथै उपचारको गुणस्तरमा पनि सुधार हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निकेश थापाले बताए । खासगरी शल्यक्रियाका लागि सहज हुने उनको बुझाइ छ । उनका अनुसार शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले छिट्टै पालो पाउने छन् ।

सम्झौतापछि लुम्बिनी प्रादेशिक अस्पताल शैक्षिक गतिविधिमा आवद्ध हुने र चिकित्सकहरुलाई प्रक्रिया पुर्याएर शिक्षक बनाउन सकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकालले बताए । कर्णालीबाट आउने विद्यार्थीलाई लुम्बिनी प्रादेशिक अस्पतालले निःशुल्क आवास सुविधा उपलब्ध गराउने छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक दशकको अवधिमै अब्बल सावित भएका अन्य प्रदेशका अस्पतालसँग पनि यस्तै सम्झौता गर्न सके जनताले थप लाभ लिन सक्ने स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटा बताउँछन् ।

प्रतिष्ठानमा बिरामीको चाप कम हुने तर विद्यार्थी धेरै भएकाले बिरामीको चाप धेरै भएको लुम्बिनी प्रादेशिक अस्पतालसँग सहकार्य गरेको रेक्टर डा. थापाले बताए । भविष्यमा प्रतिष्ठानमा अध्यापन हुने ९ वटै विषयका विद्यार्थी पठाउने तयारी रहेको उनको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ