२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा डायलाइसिस सेवा पाउनै मुस्किल, १५ महिनादेखि पालो पर्खदैं बिरामीहरू

भेरी अस्पतालमा डायलाइसिस सेवा पाउनै मुस्किल, १५ महिनादेखि पालो पर्खदैं बिरामीहरू


नेपालगन्ज—नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरुले १५ महिनादेखि पालो पर्खदा पनि डायलाइसिस सेवा पाउन सकेका छैनन् । अहिले नेपालगन्जको भेरी अस्पतालमा बाँके, बर्दिया, सुर्खेत, दाङदेखि जुम्लासम्मका ८५ जना मिर्गौलाका बिरामीहरुले डायलाइसिस सेवाका लागि पालो पर्खिरहेका छन् ।

वि.सं. २०७८ भदौंपछि नयाँ बिरामीहरुले भेरी अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा ४ वटा मात्रै डायलिसिस मेसिन छन । नियमित सेवा लिने बिरामीहरुका लागि तीन वटा र आकस्मिक सेवा लिने बिरामीहरुका लागि एउटा मेसिनबाट सेवा दिने गरिएको छ । पछिल्लामा दिनहरुमा युवाहरुमा पनि मिर्गौला सम्बन्धी रोग देखिने क्रम बढ्दैं गएको छ ।

बिरामीको संख्या कम हुँदा चार महिनासम्म पर्खदा नियमित डायलाइसिसका लागि पालो आउँथ्यो । तर, अहिले भने १५ महिना पर्खदासमेत बिरामीले पालो नपाएको भेरी अस्पताल नेपालगन्जका डायलाइसिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले बताए ।

डायलाइसिस सेवा बिरामीको अवस्थाअनुसार हरेक हप्तामा २ पटकसम्म दिनुपर्छ । मिर्गौला ट्रान्सप्लान्ट नगराउँदासम्म बिरामीले बाँचुन्जेल डायलाइसिस गर्नुपर्छ । एउटै बिरामीहरुलाई लामो समयसम्म डायलाइसिस सेवा दिनुपर्ने भएकाले नयाँ बिरामीलाई डायलाइसिस सेवा पाउन निक्कै हम्मे पर्ने गरेको छ । पछिल्ला दिनहरुमा भेरी अस्पतालमा ३६ जना बिरामीहरुले नियमित रुपमा डायलाइसिस सेवा लिदैं आएका छन् । डायलाइसिस सेवाका लागि लामो समय सम्म पालो पर्खदा—पर्खदैं बिरामीको मृत्यु हुने गरेको छ ।

सेवा लिइरहेका बिरामी मिर्गौला प्रत्यारोपणमा गएमा, अर्काे अस्पतालमा रिफर भएर गएमा र बिरामीको मृत्यु भएमा मात्रै डायलाइसिस मेसिन खाली हुन्छ । सामान्यतयाः भेरी अस्पतालमा डायलाइसिस सेवा लिइ रहेका बिरामीको मृत्यु भएपछि मात्रै नयाँ बिरामीले पालो पाउने अवस्था रहेको अस्पताल स्रोत बताउँछ ।

डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या बढ्दैं गएपछि भेरी अस्पतालमा थप ६ वटा डायलाइसिस मेसिन थप्न लागिएको छ । थप ६ वटा मेसिन जडानका भएपछि डायलाइसिस सेवाका लागि बिरामीले पालो कुर्नुपर्ने समय केही हदसम्म भएपनि कम हुनेछ ।

बाँकेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पतालमा डायलाइसिस सेवा छ । डायलाइसिसका लागि अस्पतालमा भर्ना भएका बिरामीले बिमामार्फत अन्य डायलाइसिसबाहेक उपचार सेवा र औषधीहरु निःशुल्क पाउँछन् ।

तर, मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा बिमा सुविधा बन्द हुँदा डायलाइसिस गराउने बिरामीले अन्य उपचार गराउँदा शुल्क तिर्नु पर्ने बाध्यता भएको कैलालीको टीकापुरका मिर्गौला रोगका बिरामीका श्रीमान बुधराम थारुले बताए ।

डाइबटिज र ब्लड प्रेसरका बिरामीहरुको समयमै राम्रोसँग उपचार नहुँदा मिर्गौला सम्बन्धी समस्या बढ्दै गएर डायलाइसिस गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । पछिल्ला वर्षहरुमा जीवनशैलीलगायतका यावत कारणले गराउनुपर्ने डायलाइसिस बिरामीको संख्या बढ्दै गएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ