२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमातृ तथा बाल मृत्यु कम गर्न महिला स्वमंसेविकाले पुर्‍याएको योगदान अतुलनीय छ : मन्त्री खनाल

मातृ तथा बाल मृत्यु कम गर्न महिला स्वमंसेविकाले पुर्‍याएको योगदान अतुलनीय छ : मन्त्री खनाल


नेपालगन्ज—लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृ तथा शिशु मृत्यु दरमा कमी ल्याउन महिला स्वमंसेविकाहरुले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन्। आइतबार स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा ६० वर्ष पूरा भई सेवाबाट बिदाइ हुने महिला स्वास्थ्य स्वमंसेविका विदाइ गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री उनले न्यून सेवामा पनि स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेविकाहरुले पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

खनालले मातृ मृत्युदर तथा शिशु मृत्यु दरमा कमी ल्याउन महिला स्वमंसेविवकाहरुले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे । महिला स्वमंसेविकाहरुको भूमिकालाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्न मन्त्रालय लागि परेको उनको भनाइ थियो। स्वमंसेविकाहरुको सेवा सुविधा थप्ने सवालमा प्रदेश सरकार सकारात्मक रहेको बताउँदैं सेवा निवृत्त हुने स्वमंसेविकाहरुलाई भने प्रदेश सरकारले जनही ५० हजार रुपैयाँ दिने अभियानको सुरुवात बाँकेबाट गरिएको जानकारी दिए ।

‘सेवा निवृत्त महिला स्वमंसेविकको सम्मान स्वरुप प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि ५० हजार रुपैयाँ दिन सुरु गरेको छ,’ उनले भने, ‘अब यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ ।’

लुम्बिनी प्रदेशमा करिब नौ हजार महिला स्वमंसेविका छन् । तीमध्ये एक वर्षमा करिब चार सय सेवा निवृत्त हुने गरेको तथ्यांक छ । संघीय सरकारले सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वमंसेविकालाई २० हजार रुपैयाँ दिने गरेको छ । यो हिसाबले लुम्बिनी प्रदेशमा सेवा निवृत्त हुने स्वमंसेविकाले ७० हजार पाउँछन् । नेपालगन्ज उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रका स्वमंसेविकालाई थप ५० हजार दिने गरेको नेपालगज उप—महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए। नगर क्षेत्रका सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेविकाले १ लाख २० हजार रुपैयाँ पाउनेछन् ।

बाँकेमा चालू आर्थिक वर्षमा ३४ जना महिला स्वास्थ्य स्वमंसेविका सेवा निवृत्त हुँदैछन् । नेपालगन्ज उपमहानगरपालिकामा १०, जानकीमा ४, कोहलपुरमा १, राप्तीसोनारीमा ५, बैजनाथमा २, डुडुवामा ५, खजुरामा ६ र नरैनापुरमा १ जना गरि ३४ जना सेवा निवृत्त हुँदैछन् । आइतबार नेपालगन्ज र जानकीका महिला स्वास्थ्य स्वमंसेविकाको बिदाइ गरिएको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ