२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपचारको पैसा तिर्न नसकेका युवाको उद्धार

उपचारको पैसा तिर्न नसकेका युवाको उद्धार


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होममा लामो समयदेखि उपचारको पैसा तिर्न नसकेको एक युवाको उद्धार गरिएको छ । उपचारको पैसा तिर्न नसक्दा साढे ८ महिनादेखि हस्पिटलमा रहेका संखुवासभा खाँदबारी नगरपालिका– १० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार गरेको हो ।

धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च बुझाएर जीवनलाई सोमबार अस्पतालबाट बाहिर निकालिएको हो । उनको उपचार वापत लागेको पाँच लाख रुपैयाँ अस्पतालाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले बताए । दुई लाख ९७ हजार अस्पतालले मिनाहा गरिदिएको छ । अध्यक्ष भोटेका अनुसार औषधि र क्यान्टिनमा लागेको १ लाख ७२ हजार रुपैयाँ पनि भुक्तानी गरिएपछि अस्पतालले डिस्चार्ज दिएको छ ।

चन्दनपुर घर भएर अस्टे«लियामा रहेकी सविना थापाले जीवनका लागि एक लाख रुपैयाँ सहयोग गरिन् । हङ्कङबाट धर्म राईको नेतृत्वमा संकलन गरेर दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भोटेको भनाइ छ । उनका अनुसार संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमलगायतको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ दिएको छ । सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ सहयोग ग¥यो । उनका अनुसार संखुवासभाको खाँदबारी नगरपालिकाले पनि एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

भोटेले उद्धार गरेर जीवनलाई थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिने जानकारी दिए । उनका अनुसार काठमाडौंमा सामाजिक अभियन्ता संखुवासभा निवासी रविन ढकालले उपचारमा सहयोग गर्ने भएका छन् ।

खेलमैदान निर्माणको जिम्मा लिएर बुवा गणेशसँगै भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा पुगेका बेला त्यहाँ निर्माणाधीन इर्खुवा हाइड्रोपावरका कामदारले रडले प्रहार गरेर जीवनलाई गत असार ५ गते गम्भीर घाइते बनाएका थिए । त्यसपछि उनलाई उपचारका लागि बुवा गणेशले असार ६ गते विराटनगर ल्याए । उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै छोरालाई अस्पतालमा राखेर हिडेका उनी भने अहिलेसम्म अस्पताल फर्किएका छैनन् । पारिवारिक आर्थिक अवस्था एकदमनै कमजोर छ । उनको उपचारमा लागेको पैसा तिर्न सक्ने अवस्थामा परिवार छैन । गाउँमा ऋण नपाएपछि छोराको उपचार गराएको पैसा तिर्न नसक्ने भएकाले बुवा गणेश विराटनगर फर्किन नसकेको स्थानीय विमला भण्डारी चापागाईंले बताए ।

अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नु परेको बताए । ‘श्वास फेर्न गाह्रो भएपछि घाँटीमा प्वाल पारेर पाइप राखिएकाले शल्यक्रियामार्फत यसलाई निकाल्नु पर्छ,’ डा. साहले भने, ‘प्रदेश १ मै सम्भव नहुने र काठमाडौंमा गरिने यो शल्यक्रिया जटिल खालको हुन्छ ।’ उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने पनि बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ