२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उदयपुरमा भारत र दुबईबाट फर्किएकाबाट संक्रमण फैलिएको प्रदेश सरकारको निष्कर्ष

उदयपुरमा भारत र दुबईबाट फर्किएकाबाट संक्रमण फैलिएको प्रदेश सरकारको निष्कर्ष


विराटनगर—उदयपुरको भुल्केका कोभिड—१९ कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा भारतको सुरतबाट फर्केका युवक र दुबईबाट आएका २ जनाबाट संक्रमण फैलिएको दाबी प्रदेश १ सरकारले गरेको छ । भुल्केको नुरी मस्जिदका जमातीबाट नभई अरुबाट फैलिएको निष्कर्ष नजिक प्रदेश १ सरकार पुगेको हो ।

भारतको उत्तर प्रदेशमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका युवा र दुबईबाट आएका २ जना व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको निष्कर्षमा पुग्न लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले संक्रमित क्षेत्र उदयपुरमै बिहीबार आयोजित सर्वपक्षीय छलफलमा बताए । उनले जमातीबाट संक्रमण फैलिएको आधार नदेखिएको बताए ।

सुक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका ५ सदस्यमा संक्रमण देखिएकोले त्यहीबाट अन्यत्र फैलिएको आधार बलियो बनेको उनको भनाइ छ । यद्यपी दुबईबाट आएकाको बारेमा पनि अध्ययन भइरहेको मन्त्री घिमिरेले बताए ।

संक्रमण कहाँबाट फैलिएको भन्नेमा करिब निष्कर्षमा पुगेकोले अब उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको खोजी, परीक्षण र उपचारलाई व्यापक पारिने मन्त्री घिमिरेले बताए । अहिलेसम्मको अध्ययनमा उनीहरु २ सय ५१ जनाको सम्पर्कमा आएको देखिएकोले अब उनीहरुको परीक्षण गरिने उनले बताए ।

नेपाली सेनाको पूर्वी पृतनापतिसहित संक्रमित क्षेत्र आएका मन्त्री घिमिरेले सरोकारवालासँग छलफल गरेका थिए । उनले विराटनगरमा १ सय जनाको उपचार गर्ने क्षमता रहेकोमा त्यसले धान्न नसक्ने अवस्था सिर्जना हुँदै गएकाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल १ सय जनालाई उपचार गर्न सकिने गरी तायरी भइरहेको जानकारी समेत दिए ।

उदयपुरमा कोभिड—१९ उपचार केन्द्र बनाउन १ करोड बजेट

उदयपुरमा कोभिड—१९ उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भएको मन्त्री घिमिरेले जानकारी दिए । बजेट विनियोजन भएकोले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन पनि मन्त्री घिमिरे दिए । स्वास्थ्य सामग्री अभाव मुलुकमै रहेको उल्लेख गर्दै उनले बिहीबारदेखि उदयपुरमा अभाव हुन नदिने व्यवस्था मिलाइएको दावी गरे ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्ति लगायतका सुरक्षाकवचहरु अभाव रहेकाले तत्काल आपुर्ति गरिदिन आग्रह गरे । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले संक्रमित क्षेत्रमा आउजाउँ भएका २ सय ५ जनाको स्वाव र २ हजार १ सय जनाको ¥यापिड परीक्षण तत्काल गर्नुपर्ने बताए ।

यसैबीच कोरोना संक्रमित बसेको उदयुरका दुई मस्जिद क्षेत्रका ७८ जनाको स्वाब बिहीबार संकलन गरिएको छ । संक्रमित जमातीहरु बसेको चौदण्डीगढी नगरपालिका–५ सिवाई र त्रियुगा नगरपालिका –३ मोथीहाइको मस्जिद आसपासमा बिहीबार स्वाब संकलन गरिएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ