२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको कोशी अस्पतालबाट कोरोना जितेर थप ८ जना डिस्चार्ज

विराटनगरको कोशी अस्पतालबाट कोरोना जितेर थप ८ जना डिस्चार्ज


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा उपचार गराइरहेको उदयपुर त्रियुगा नगपालिका—३ भुल्केबाट संक्रमित भएर आएका थप ८ जना कोरोना निको भएपछि डिस्चार्ज भएका छन् । पहिलो, दोस्रो र तेस्रो पटकको पिसिआर प्रविधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि शुक्रबार अस्पतालले डिस्चार्ज गरेको हो ।

डिस्चार्जपछि पनि उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् । डिस्चार्ज भएकामध्ये ७ जनालाई विराटनर क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ ।

भुल्केको मस्जिदमा बसेका भारतीय जमाती एक जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र एक महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो ।

चिकित्सकीय निगरानीमा रहेका उनीहरुले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पतालले जनाएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् ।

अस्पतालबाट कोरोनामुक्त भएकाहरुलाई केही समय क्वारेन्टाइनमा राखिनेछ । यसअघि बुधबार डिस्चार्ज भएका ६ जनालाई विराटनगरमै क्वारेन्टाइनमा राखिएको छ । डिस्चार्ज भएकाहरूलाई अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ