२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

प्रदेश १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने


विराटनगर-प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले जानकारी दिए ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गीकरण समेत गरेको छ । उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालप्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत वृद्धि गरिने भएको छ । यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन् । यतिबेला यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ