२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जहदामा भेटिए १८ जना क्षयरोगी बालवालिका

जहदामा भेटिए १८ जना क्षयरोगी बालवालिका


विराटनगर—मोरङको जहदा गाउँपालिकामा १८ जना बालवालिकाहरूमा कुपोषणसँगै क्षयरोग भएको भेटिएको छ । शरीरलाई आवश्यक सन्तुलित आहार अभावका कारण जहदा गाउँपालिकामा बालबालिकालाई कुपोषणसँगै क्षयरोग भएको पत्ता लागेको हो ।

गाउँपालिकाले बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत आयोजना गरेको कुपोषण परीक्षण शिविरमा पाँचवर्ष मुनीका १८ जना बालबालिकामा कुपोषणसँगै क्षयरोग भएको भेटिएको जहदा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले जानकारी दिए । शिविरमा परीक्षण गराउन आएका ५ वर्षमुनीका १८ बालबालिकामा क्षयरोगका किटाणु भेटिएपछि अहिले उनीहरुको उपचारका लागि गाउँपालिकाले छुट्टै डस्ट (स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी) मा राखेर औषधी सेवन गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख दासले बताए ।

‘७ वटा वडा रहेको यस गाउँपालिकामा दश दिनसम्म शिविर चलाएको थियौं,’ उनले भने, ‘एक हजार ९३ जना बालबालिकामा परीक्षण गर्दा १८ जना क्षयरोगी र ७५ जना शिघ्र कुपोषणको शिकार भएको भेटियो ।’ कुपोषण भएको बालवालिका पनि भेटिएपछि उपचारसँगै सन्तुलित आहारको विशेष व्यवस्थापन जहदा गाउँपालिकाले मिलाएको गाउँपालिकाले जनाएको छ ।

क्षयरोग देखिएकामध्ये अधिकांश बालबालिका कुपोषणको शिकारमा परेका छन् । गाउँपालिकाले कुपोषण भएका बालबालिकालाई पोषणयुक्त आहार उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरेको थियो ।

पोखरिया र शिसवनी स्वास्थ्य चौकीमा डस्ट राखेको गाउँपालिकाले त्यहाँसम्म अभिभावकलाई आउने र जाने खर्च उपलब्ध गराएको छ । खर्च अभावले बालबालिकालाई दैनिक स्वास्थ्य चौकीसम्म लिएर आउन नसक्ने अवस्था भएका अभिभावकलाई प्रतिव्यक्ति २ हजार रुपैयाँ खर्च उपलब्ध गराइएर बालबालिकालाई औषधी सेवन गराउने गरिएको हो । क्षयरोगको निःशुल्क परीक्षण र औषधी उपलब्ध हुने भएपनि उपचारका लागि जाने बाटो खर्च गाउँपालिकाले उपलब्ध गराएको बताइएको छ ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डल नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य सम्प्रभूताका लागि सचेत रहँदै देखिएका समस्या समाधानमा सक्रिय रहेको बताए । ‘सबै बालबालिकाको खान पाउने, स्वस्थ्य हुन पाउने र शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्ने कार्यक्रम अगाडी सारेको छ,’ उनले भने, ‘आगामी आर्थिकवर्षदेखि अझै प्राथमिकतामा राखिनेछौं । स्वास्थ्य, शिक्षा र खाद्य अधिकारलाई गाउँपालिकाले पहिलो प्राथामिकतामा राखेको छ ।’

जहदामा मात्रै पाँचवर्ष मुनीका ६ हजार पाँचसय बालबालिका रहेको गाउँपालिको तथ्याङकमा उल्लेख छ । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न सबै वडामा स्वास्थ्यकर्मी परिचालन समेत गरिएको छ । गत आर्थिक वर्षका लागि स्वास्थ्य शाखामार्फत ६७ लाख ५० हजार रुपैंयाँ रकम निकासा गरिएको थियो । जसमध्ये गाउँपालिकाले ७ वटा वडामा बालस्वास्थ्य कार्यक्रममार्फत पाँचवर्ष मुनीका बालबालिका स्वास्थ्य परीक्षणमा दुई लाख रुपैयाँ खर्चेको थियो ।

बालबालिकामा क्षयरोग देखिनुको मुख्य कारण कुपोषण रहेको विराटनगरस्थित नेपाल क्षयरोग निवारण केन्द्रका वरिष्ठ फिजिसियन तथा छाती रोग विशेषयज्ञ डा. अस्मितानन्द ठाकुरले बताए । ‘रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि क्षयरोगका किटाणु सक्रिय हुन्छ,’ उनले भने, ‘यो सँगै रोग देखिन्छ ।’ बालबालिकाको शारीरिक विकास सुस्त देखिए तत्काल परीक्षण गर्नुपर्ने डा. ठाकुरको सुझाब छ । क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुने चिकित्सवहरू बताउँछन् । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ ।

विराटनगरको हस्पिटल चौकमा रहेको नेपाल क्षयरोग निवारण केन्द्रमा मासिक रुपमा २० देखि ३० जना बालबालिकामा क्षयरोग भएका बालवालिकाले नियमित स्वास्थ्य जाँच गरि औषधी सेवन गर्दै आएको डाक्टर ठाकुरले जानकारी दिए । ‘अहिले नियमति रुपमा क्षयरोगी भएका बालवालिकाहरू मासिक रूपमा स्वास्थ्य परीक्षण गराए औषधी लिएर जाने गरको छन्,’ उनले थपे
दुई साता वा सो भन्दा बढीसमयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, खासगरी बेलुकापख ज्वरो आउनु, छाती दुख्नु, खाना अरुची हुनु, खकारमा रगत देखिनु आदि क्षयरोगको लक्षण रहेको डा. ठाकुरले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ