२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्यलाई गम्भीर असर गर्ने कोलीफर्म भेटिएपछि विराटनगरका १३ पानी उद्योग विरुद्ध मुद्धा

स्वास्थ्यलाई गम्भीर असर गर्ने कोलीफर्म भेटिएपछि विराटनगरका १३ पानी उद्योग विरुद्ध मुद्धा


विराटनगर—मानव स्वास्थ्यलाई गम्भीर असर गर्नेे ‘कोलीफर्म’ जीवाणु र पी.एच.कम भेटिएका विराटनगर महानगरपालिका भित्रका १३ वटा पानी उद्योग विरूद्ध मुद्धा दर्ता भएको छ । उद्योगले उत्पादन गर्ने प्रशोधित पानीमा कोलीफर्म र पीएच कम भएको ल्याब परीक्षणबाट देखिएपछि १३ उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्धा दर्ता गरेको हो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गत साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा खाद्य अनुज्ञापत्र बेगर सञ्चालन र वर्षौदेखि अनुज्ञापत्र नवीकरण नभएको ६ वटा पानी उद्योगमा सिलबन्दी गरिएको थियो । अनुगमन गरिएको २० वटामध्ये खाद्यले गरेको ल्याब परीक्षणमा १३ वटा पानी उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा कोलीफर्म जीवाणु र पी.एच. कम भएको देखिएको थियो ।

कोलीफर्म भेटिएको लामो समयपछि खाद्य प्रविधीले उद्योग विरूद्ध मुद्दा दर्ता गरेको छ । यसरी प्रशासन कार्यालयमा कोलीफर्म भेटिएर उद्योग विरूद्ध मुद्धा दर्ता हुनेहरूमा विराटनगर–१३ मा रहेको श्री जल उद्योग, विराटनगर–४ स्थित गोमारानी उद्योग, विराटनगर–६ को पूजा फुड एण्ड बेभरेज प्रालि, विराटनगर–१४ को जानसन जल उद्योग, विराटनगर–१० को मंगलम बेभरेज उद्योग रहेको छ । यसैगरी विराटनगर विराटनगर– ८ को शितलजल उद्योग, गंगा जल उद्योग, विराटनगर–२ को तिरूपति जल उद्योग, मोरङको बुढीगंगा गाउँपालिका–१ को शुभ जल उद्योग, विराटनगरको हाइकल वाटर इन्डष्ट्रीज, विराटनगर–१२ को दिव्यश्री जल उद्योग, विराटनगर—९ को माउण्टेन वाटर इन्टष्ट्रीज र एस.एस.एस. जल उद्योग विरुद्ध मुद्धा दर्ता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

पानी उद्योगले उत्पादन गर्ने प्रशोधित पानीमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य ऐन, २०२३ खाद्य नियमावली बमोजिम विभिन्न मितिमा उद्योग विरुद्ध मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ । कोलीफर्म र पिएच कम भेटिएको पानी उद्योगका संचालकहरुको प्रारम्भिक चरणको बयान पूरा भएपछि मुद्दा प्रशासन कार्यालयमा दर्ता गरेको बताइएको छ । मुद्दा दर्ता भएका पानी उद्योगले उत्पादनमा सुधार गरेपछि अहिले प्रशोधित पानी बजारमा भने गैरहेको छ ।

यस्तो छ सजाय

खाद्य ऐन, २०२३ खाद्य नियमावाली मुद्दामा ५ देखि १० हजार रुपैयाँ जरिवाना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताले दैनिक रूपमा उपभोग गर्दै आएको विभिन्न बस्तुहरूमा गुणस्तरहीन उत्पादन गर्ने ८७ वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले यो आर्थिक वर्षमा ८७ वटा उद्योग विरुद्ध मुद्धा दर्ता गरेको हो ।

चालु आर्थिक वर्षमा २७ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

कोलीफर्म भएको पानी पिउँदा ज्यान जान सक्छ : चिकित्सक

कोलीफर्म भएको पानी पिउँदा स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरुको भनाइ छ । विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले कोलीफर्म भएको पानी पिउनाले झाडा पखाला लाग्ने, हेपाटाइटीस, जण्डिस हुने, मृगौला र कलेजोमा समेत असर गर्ने बताए । ‘कोलीफर्म भएको पानी पिउनाले ज्यान जान सक्ने समेतको खतरा हुन्छ,’ डाक्टर खड्काले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ