२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा छड्के अनुगमन टोली आश्चर्यचकित, अधिकांश चिकित्सक निजीमा

कोशी अस्पतालमा छड्के अनुगमन टोली आश्चर्यचकित, अधिकांश चिकित्सक निजीमा


विराटनगर–विराटनगरस्थित कोशी अस्पतालमा समयमा चिकित्सक नआउने र आएपनि हाजिर गरेर निजी क्लिनिकमा जाने गरेको सेवाग्राहीको जनगुनासो बढेको थियो । त्यही जनगुनासोको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधी आइतबार विराटनगरस्थित कोशी अस्पतालमा आकस्मात रूपमा छड्के अनुगमनमा निस्किए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादव सेवाग्राही बनेर अस्पताल भित्र पसेको मात्र के थिए उनी आश्चर्यचकित भए । उनलाई आश्चर्यचकित पार्ने कारण थियो अस्पतालको भद्रगोल अवस्था र कार्यरत चिकित्सकको कार्यशैली । कोठाबाहिर भित्र लेखिएको बोर्ड छ तर भित्र पस्दा चिकित्सकको कार्यकक्षमा विशेषज्ञ चिकित्सक थएनन् । चिकित्सकको यस्तो तालदेखेपछि उनी आक्रोशित हुँदै बाहिरिए ।

अनुगमनको क्रममा कोशी अस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा नभेटिएको उनले बताए । संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले गरेको छड्के अनुगमनमा बहिरंग विभागमा कार्यरत अधिकांश चिकित्सक अस्पताल बाहिरै थिए । अस्पतालको कार्यलय समय अवधिभर नबसेर उनीहरू निजी क्लिनिकमा गएको अस्पताल स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा देशैभरका सरकारी अस्पतालमा यस्ता टिम परिचालन गरिएको अनुगमन निस्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत यादवले बताए । ‘कोशी अस्पतालमा सेवाग्राही बनेर अनुगमनमा आएको थिए,’ उनले भने, ‘भित्र सेवाग्राहीले चिकित्सक कुरेर बसेका थिए । बहिरंग विभागमा अधिकाशं चिकित्सक थिएनन् ।’ विरामी
चिकित्सकलाई रिपोर्ट देखाउन भनेर कुरेर बसेको भएपनि अस्पतालमा चकित्सक नहुँदा सेवाग्राहीहरू भौतारिनु परेको उनले बताए ।

समयमा चिकित्सक नआउने र हाजिर गरेर अन्यत्र जानेलाई एक पटक सुध्रन चेतवनी दिएको उनले बताए । ‘अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई पनि यस विषयमा जानकारी गराएका छौं,’ उनले भने, ‘समयमा नआउने चिकित्सकलाई बानी व्यवहार सुधार गरी समयसीमासम्म रहेर भरपर्दो सेवा सेवाग्राहीलाई दिनु भनेका छौं ।’ अनुगमन सकेर यस विषयमा मन्त्रालयमा रिपोर्ट पनि पठाउने उनले बताए । सोहीअनुसार चिकित्सकलाई कस्तो कारबाही हुने हो मन्त्रालयमा निर्णय हुने उनको भनाइ छ ।

यता अस्पतालका सुपरिटेन्टडेन्ड (मेसु) डा. रोशन पोखरेलले आफू सामाजिक विकास मन्त्रालयको कार्यक्रम भएकोले ‘अर्थोपेडिक’ डिपार्टमेन्टमा मात्र चिकित्सक नभएको बताए । उनले अन्य विभागमा सबै चिकित्सक भएको दाबी गरे । ‘अर्थोपेडिकमा बिरामी हेरेपछि चिकित्सक कतै बाहिर जानुभएको होला,’ उनले भने । ६० जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि १२ जना मात्र विशेषज्ञ चिकित्सक भएको उनले बताए । ‘दरबन्दीअनुसार चिकित्सक पनि छैन,’ उनले भने, ‘जेनतेन भएका चिकित्सकहरूले विरामीहरूलाई सेवा दिदै आएका छौं ।’ अस्पतालमा दैनिक औसत एक हजारभन्दा बढी विरामीले सेवा लिदै आएका मेसु पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ