२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १समुदायस्तरमा गएर कोरोना परीक्षण गर्ने प्रदेश १ सरकारको तयारी

समुदायस्तरमा गएर कोरोना परीक्षण गर्ने प्रदेश १ सरकारको तयारी


विराटनगर – प्रदेश १ मा क्वारेन्टाइनमा रहेकाहरूलाई मात्र कोरोना देखिएकोले अब समुदायस्तरमा गएर कोरोना परीक्षण गरिने भएको छ । प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले नमूनाका रुपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको जानकारी दिए । ‘क्वारेन्टाइनमा मात्र हैन समुदायमा पनि नमूनाका रुपमा परीक्षण गर्न आवश्यक देखिएको छ, ’मन्त्री घिमिरेले भने, ‘यसको तयारी प्रदेश सरकारले अब थाल्नेछ ।’

कोरोना उपचार केन्द्र र क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरुको परिवार र आसपासका स्थानहरुको छनौट गरेर नमूनाका रुपमा परीक्षण गर्ने मन्त्री घिमिरेले बताए । पहिलो चरणमा सुरक्षाकर्मीको परीक्षण गरिएको उनले बताए ।

कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्र भागमा रहेर काम गरिरहेका ३ वटै सुरक्षा निकायका १ हजार ५ सयको परीक्षण गरिएको मन्त्री घिमिरेले जानकारी दिए । सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण नदेखिएको उनले बताए । सुरक्षाकर्मी पछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी शुरु गरिएको मन्त्री घिमिरले बताए ।

‘निजि अस्पताल सञ्चालकहरुको संगठन अफिनसँगको सहकार्यमा स्वास्थ्यकर्मीको परीक्षण गरिने छ, ’मन्त्री घिमिरेले भने । स्वास्थ्यकर्मीको परीक्षण पछि समुदाय स्तरमा परीक्षण गरिने मन्त्री घिमिरेको भनाइ छ । परीक्षणको दायरा बढाउनका लागि माग बढिरहेकाले समदुाय स्तरमा पनि परीक्षण गर्न लागिएको उनको बताए ।

‘क्वारेन्टाइनमा रहेका, कन्ट्याक्ट ट्रेसिङका आधारमा र कोरोना उपचार केन्द्रमा भर्ना भएकाहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्म परीक्षण गर्ने काम भइरहेको छ, ’मन्त्री घिमिरेले भने । प्रदेश १ मा कोरोना संक्रमण भन्दा कोरोना मुक्त भएर घर फर्कनेको संख्या बढ्दो क्रममा रहेको मन्त्री घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेले प्रदेश १ को कोरोनाको अवस्था भयाभह नरहेको बताए । भारत लगायतका तेश्रो मुलकबाट आउनेहरुमा मात्र संक्रमण देखिएको मन्त्री घिमिरेले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ