२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विकृतिलाई निरुत्साहित गर्न र औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीको माग

विकृतिलाई निरुत्साहित गर्न र औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन व्यवसायीको माग


विराटनगर – औषधी व्यवसायमा देखिएका विकृति र विसंगतिहरुलाई निरुत्साहित गर्न र औषधी व्यवस्था विभागलाई प्रविधियुक्त बनाउन प्रदेश १ का तीन जिल्लाका औषधी व्यवसायी संघले माग राखेका छन् । नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले शुक्रबार ज्ञापन पत्र बुझाउँदै उक्- माग राखेका हुन् ।

संघका तीनै जिल्लाका शाखाहरुले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउने, औषधीको गुणस्तरलाई उच्च बनाउने, चोरी तस्करी नियन्त्रण गर्ने, विना दर्ताका औषधीहरुको विक्री-वितरणलाई कडाइ गर्ने औषधी व्यवस्था विभाग विराटनगर क्षेत्रीय कार्यालयको कामलाई नखुम्च्याई अझ प्रभावकारी बनाउन माग पनि राखेका छन् ।

तीनै जिल्ला शाखाका पदाधिकारीहरु र औषधी व्यवसायीहरुको टोलीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र औषधी विभाग, काठमाडौँका महानिर्देशक नारायण ढकाललाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेका हुन् ।

औषधी व्यवसायीहरुको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई, प्रदेश प्रमुखका स्वकिय सचिव खिमलाल अधिकारीमार्फत प्रदेश प्रमुख प्यासीलाई ज्ञापन पत्र बुझाएका छन् ।

त्यस्तै, प्रदेश नम्बर १ का प्रमुख सचिव दिनेश भट्टराई मार्फत मुख्यमन्त्री शेरधन राईलाई र औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख संजीव शर्मा कट्टेल मार्फत स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र विभागका महानिर्देशक नारायण ढकाललाई ज्ञापन पत्र पठाएका छन् ।

उनीहरूलाई नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सीना, सुनसरीका अध्यक्ष रविन्द्र घिमिरे र झापाका अध्यक्ष गौतम गुप्ताले ज्ञापन पत्र संयुक्त रुपमा बुझाएका थिए । पूर्वका १६ जिल्लामा औषधीको कालोबजारी र तस्करी रोक्ने, गुणस्तर कायम राख्ने, औषधी व्यवसायको नियमन गर्दै आएको औषधी व्यवस्था विभाग विराटनगर कार्यालयलाई अन्य कार्यालयमा मिसाउन लागेको भन्ने सुन्नमा आएकोले उक्त कार्यालयलाई यथास्थानमै कायम राखि अझ प्रभावकारी बनाउन माग गर्दै औषधी व्यवसायीहरुले संघिय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

विभागको विराटनगर कार्यालयमा ल्याव राखेर औषधीको गुणस्तर चेकजाँच गराउन नसकिरहेको, अनुगमनका क्रममा बरामद भएका गुणस्तरहिन औषधीहरु नष्ट गर्ने ठाउँको अभाव भइरहेको अवस्थामा अझ अन्य कार्यालयमा मिसाएर खुम्च्याउँदा कालोवजारी बढ्ने, नक्कली औषधीहरुको विगविगी बढ्ने, अनुगमन नियमन कार्यमा कमी आई औषधी व्यवसाय नै अमर्यादित हुन पुग्ने व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ