२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा सुत्केरीको मृत्यु प्रकरणः मृतक परिवारलाई २ लाख दिएर घटना मिलाइयो

नोबेलमा सुत्केरीको मृत्यु प्रकरणः मृतक परिवारलाई २ लाख दिएर घटना मिलाइयो


विराटनगर—विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा लापरबाही भएर सुत्केरीको मृत्यु भएको घटनालाई अस्पतालले मृतकका परिवारलाई २ लाख र उपचार गर्दा लागेको खर्च मिनाह गरिदिएर मिलाएको छ ।

नोबेलले दुई लाख रुपैयाँ र उपचार गर्दा लागेको सम्पूर्ण खर्च फिर्ता गरिदिने भएपछि विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका मृतकका आफन्त र परिवारका सदस्य पनि मागलाई थाँती राखेर पैसा बुझ्दैं आन्दोलन फिर्ता लिन राजी भएका हुन् । बिहीबार दिउँसो मृतक पक्षसँग भएको वार्ताका क्रममा अस्पताल प्रशासन दुई लाख रुपैयाँ मृतकका परिवारलाई दिन सहमत भएको बुझिएको छ ।

सामान्य प्रसुतीबाटै बच्चा जन्माएकी सुनसरीको रामधुमी नगरपालिका–३ की ३५ वर्षीया पार्वती कार्कीको बुधबार विहान अस्पतालमै मृत्यु भएको थियो । सामान्य प्रसुतीबाटै दोस्रो सन्तान छोरी जन्माएकी उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालको दाबी छ । सोमबार अस्पताल भर्ना भएकी उनले मंगलबार विहान १० बजे ‘नर्मल डेलिभरी’बाट नवजात शिशुको जन्म दिएकी थिइन् । रक्तश्राव नरोकिएको भन्दै चिकित्सकले मंगलबार दिउँसो नै पाठेघरको शल्यक्रिया गरिदिएको आफन्त पुस्बिन अधिकारीले बताए । उनका अनुसार शल्यक्रियापछि १७ पिन्ट रगत समेत चढाइएको थियो ।

परिवारका सदस्य र आफन्तले भने अत्यधिक रक्तश्राव हुँदा पनि चिकित्सकले बेवास्था गरेको र शल्यक्रियाका क्रममा लापरबाही गर्दा मृत्यु भएको आरोप लगाएका थिए । शव बुझ्न अस्वीकार गर्दै उनीहरु आन्दोलित बनेका थिए । अस्पतालले मृतक परिवारलाई दुई लाख दिनुका साथै यसअघि मृतकका परिवारले बुझाएको २६ हजार रुपैयाँ पनि फिर्ता गरिदिएको छ । अस्पतालले तिर्न बाँकी रहेको १० हजार पनि मिनाहा गरिदिएको छ । लेनदेनको सहमतिपछि भने परिवारका सदस्य र आफन्तले शव बुझेर अस्पतालबाट लगेका छन् ।

पार्वतीका दाजु नवराज राउतले अस्पताल प्रशासन पीडित पक्षले राखेका माग सम्बोधन गर्न राजी भएपछि आन्दोलन फिर्ता लिएर शव जिम्मा लिइएको बताए । ‘हामीले राखेका मागमा अस्पताल प्रशासन सहमत भयो,’ उनले भने, ‘त्यही भएर शव जिम्मा लिएर लगिएको हो ।’

यता अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले उपचारमा चिकित्सकले लापरबाही नगरेको र अत्यधिक रक्तश्रावका कारण महिलाको मृत्यु भएको बताए । ‘धेरै रगत बगेर मृत्यु भएकी महिलाको परिवार आर्थिक रुपमा धेरै विपन्न रहेछ,’ उनले भने, ‘पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेको पाइएपछि नवजात शिशुको संरक्षण र स्याहारमा सहयोग पुगोस भनेर अस्पतालले आर्थिक सहयोग गरेको हो ।’ उनले मृतकका परिवारले उपचार वापत अस्पताललाई बुझाएको पैसा फिर्ता दिइएको र तिर्न बाँकी सबै रकम मिनाहा मात्र गरिएको बताए । अरु कुनै क्षतिपूर्ति नदिएको उनको दाबी छ ।

बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । कतारमा रहेका पार्वतीका श्रीमान दीपक कार्की पनि फर्किएर आइसकेका छन् । कार्की दम्पत्तीको पहिलो सन्तान ७ वर्षकी छोरी छन्् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ