२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउन जोड

कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउन जोड


विराटनगर—कोरोना संक्रमणबाट बच्नका लागि व्यक्ति आफैले सावधानी अपनाएर सतर्क बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको कोभिड—१९ सम्बन्धि छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय कोरोना संक्रमणको दर वृद्धि भएको बताए । केही समयदेखि घटेको संक्रमण पछिल्लो एक सातामा बढेर गएको उनले बताए । संक्रमण बढेसँगै सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । व्यक्ति आफै सतर्क नभए संक्रमण झन बढेर जाने मन्त्री घिमिरेको भनाइ छ ।

कोरोना सम्बन्धि सतर्कता नअपनाउनेलाई कानुनको सहारा लिएर भएपनि सर्तकता अपनाउन लगाउनुपर्नेमा उनले जोड दिए । लकडाउनले संक्रमण नियन्त्रण हुने नदेखिएकाले व्यक्ति आफै सतर्क हुने समय आएको मन्त्री घिमिरेले बताए ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले स्थानीय तहहरुले सार्वजनिक सेवा बन्द गर्दैमा संक्रमण नियन्त्रणमा नआउने देखिएकाले सेवाग्राहीको रेकर्ड राखेर सेवा प्रवाह गर्नुपर्ने बताए । उनले व्यक्ति स्वयंम सचेत हुने बेला आएको बताए ।

निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन)का प्रदेश १ संयोजक डा. सुनिलचन्द्र अधिकारीले कोरोना संक्रमणबाट जोगिनका लागि अनुशासन आवश्यक रहेकोमा जोड दिए । उनले होम आइसोलेसनमा बस्न सक्नेहरुलाई त्यस्तो सुविधा सरकारले दिनुपर्ने बताए ।

मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनुशासनमा बस्न नसके संक्रमण नियन्त्रणमा समस्या हुने बताए । सीमामा सुरक्षा व्यवस्था कडा बनाइएको उनको भनाइ थियो ।

कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रका संयोजक डा. डेनप्रसाद आचार्यले संक्रमण बढेसँगै सरकारले संक्रमितको उपचार गर्न नसक्ने भएकाले ब्यक्ति आफै सचेत हुनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ