२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कडा लक्षणसहितका कोरोना संक्रमित बढे

कडा लक्षणसहितका कोरोना संक्रमित बढे

सामुदायमा फैलियो कोरोना


विराटनगर-विराटनगरस्थित कोसी अस्पतालको आइसोलेशनबाट रेफर भएका मोरङ सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको बुधबार साँझ धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । अस्पतालको फिभर क्लिनिकमा जाँच गराउन आएका ती पुरुषमा खोकी र ज्वरोसहितको लक्षण देखिएपछि चिकित्सकले स्वाब लिएर परीक्षण गर्न पठाएका थिए ।

मृतक पुरूषमा गत मंगलबार राती कोशीको ल्याबमा गरिएको परीक्षण रोपटमा कोरोना पोजेटिभ देखाएको थियो । उनलाई कडा किसिमको लक्षण देखा परेपछि कोशी अस्पतलाको आइसोलेनमा भर्ना गरिएको थियो ।
श्वास–प्रश्वासमा समस्या र उच्च ज्वरोसहितका लक्षण देखिएपछि कोसीका चिकित्सकले उनलाई धरान रेफर गरिदिएका थिए । कोशी अस्पतला र धरानको विपी प्रतिष्ठानका चिकित्सकहरू समन्वय हुन नसक्दा भेन्टिलेटरमा ‘हाल्दा नहाल्दै’ उनको मृत्यु भयो । प्रदेश १ मा कोरोना संक्रमणिबाट मृत्यु भएको यो नै पहिलो घटना हो ।

गत शनिबार कोशी अस्पतलाका एक जना चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भयो । सप्तरी घर भएका ती चिकित्कसलाई ज्वरो र खोकी देखिएपछि कोशीको ल्याबमा स्वाब दिएका थिए । रिपोट पोजेटिभ आएपछि अहिले विराटनगरस्थित कोशी अस्पतालको कोभिडि उपचार केन्द्रमा उपचार भइरहेको छ । विराटनगरस्थित विराट अस्पताल प्रालि (विराट नर्सिङ) होमका वरिष्ठ चिकित्सकमा पनि लक्षणसहितको संक्रमण थियो । रुघा, ज्वरो र क्षतिमा निमोनिया देखिएपछि थप उपचारको लागि काठमाण्डौंस्थित टिचिङ्ग अस्पतालमा हेलिकोप्टर मगाएर पुगे । अहिले उनका टिचिङ अस्पतालको कोभिड उपचार केन्द्रमा उपचार भइरहेको छ ।

उल्लेखित प्रतिनिधी मूलक घटना हो । पछिल्लो एक सताभित्र प्रदेश १ मा कडा लक्षणसहितको कोरोना संक्रमित देखिन थालेको छ । पछिल्लोपटक संक्रमण देखिएकामध्ये केहीमा कडा खालको कोरोनाको लक्षण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार हाल प्रदेश १ मा फेला परेका बिरामीमध्ये धेरैमा लक्षण नभए पनि पछिल्लो समय भने कडा किसिमको लक्षण देखिन सुरु भएको स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बताए । ‘लक्षण भएका कतिपय बिरामीलाई भेन्टिलेटरमै राखेर उपचार गरिनुपर्ने हुन्छ,’ उनले भने, ‘लक्षणसहितका बिरामीहरूको संख्या थपिने क्रममा बढेर गएको छ । सोही अनुरूप उपचारको प्रबन्ध गनुपर्ने जिम्मेवारी थपिएको छ ।’

कोशी अस्पतलाका कोभिड उपचार केन्द्रका कोडिनेटर समेत रहेका डा. डेन प्रसाद आचार्यले प्रदेश २ मा देखिएको कडा खालको लक्षणसहितको कोरोना संक्रमित प्रदेश १ मा पनि देखिन थालेको बताए । ‘प्रदेश २ का संक्रमितलाई मिल्दोजुल्दो लक्षण प्रदेश १ मा पनि देखिएको छ,’उनले भने ।

कोशीको कोभिड उपचार केन्द्रमा भर्ना भएका संक्रमित मध्ये १० प्रतिशतमा कडा लक्षणसहितको संक्रमित रहेको उनले जानकारी दिए । ‘कोभिड उपचार केन्द्रमा भर्ना भएका ५० मध्ये १० जनामा कडा लक्षणसहितका विरामीहरूको उपचार भइरहेको छ,’ डा. आचार्यले भने, ‘कडा लक्षण भएका बिरामीलाई भेन्टिलेटरमै राखेर उपचार गरिनुपर्ने हुन्छ । त्यही अनुसार भइरहेको छ । लक्षणसहितका बिरामीहरू प्रदेशमा थपिने क्रममा बढेर गएको छ । सोहीअनुरूप उपचारको प्रबन्ध गनुपर्ने हुन्छ ।’

प्रदेश १ मा बिहीबार सम्म ९ सय ९३ जना कोरोना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । थपिएका मध्ये विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको वेलकामा १ महिला, १ पुरुष र सोलुखम्वुको दुधकुण्डमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयकाप्रवक्ता डा.सुरेश महेताले बताए । प्रदेश १ मा बिहीबारसम्म ७ सय ८९ जना डिस्चार्ज भएका छन् ।

प्रदेशको २० स्थानिय तह जोखिममा

भारतसँग सिमा जोडिएका प्रदेश १ का २० वटा स्थानीय तह कोरोना भाइरस संक्रमणको जोखिममा रहेको छ । भारतसँग सीमा जोडिएका चार जिल्लाका स्थानीय तहहरु कोरोना संक्रमणको जोखिममा रहेको हो ।

मोरङका ६, सुनसरी तथा झापाका पाँच र इलामका चार वटा स्थानीय तहलाई जोखिमको सूचीमा राखिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले मोरङको विराटनगर, जहदा, धनपालथान, रंगेली, सुनबर्सी र रतुवामाईलाई कोरोना संक्रमणको जोखिमको सूचीमा राखिएको छ ।

यस्तै, सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु, झापाको मेचीनगर, भद्रपुर, कचनकबल, झापा गाउँपालिका, गौरिगंज तथा इलामको रोङ, सुर्याेदय माइजोगमाई र सन्दकपुर कोरोना संक्रमणको जोखिममा छन् । डा. मेहताले उदयपुर पनि कोरोना जोखिमको सूचीमा रहेको बताए । भारतसँग सीमा जोडिएको प्रदेश २ का सिराहा तथा सप्तरीसँग जोडिएको र झापा, मोरङ र सुनसरी पनि बढी संक्रमित भएकाले उदयपुर पनि कोरोना संक्रमण जोखिमको सूची रहेको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ