२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फार्मेसीको कमाउ धन्दा : डाक्टरले सिफारिस नगरेको औषधी विरामीलाई भिडाउँदै

फार्मेसीको कमाउ धन्दा : डाक्टरले सिफारिस नगरेको औषधी विरामीलाई भिडाउँदै


विराटनगर – विरामीको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै विराटनगरका फार्मेसीद्वारा  चिकित्सकले सिफारिस नै नगरेको औषधी थप गर्दै विक्रीवितरण गरी  कमाउ धन्दामा लागेको खुलसा भएको छ । अस्पतालमा भर्ना भएका विरामीलाई चिकित्सकले सिफारिस नगरेका औषधी जबरजस्ती भिडाइदिएर फार्मेसी कमाउ धन्दामा लागेको पाइएको हो ।

विराटनगर अस्पताल (विराट नर्सिङ होम) अगाडी सिराह घर भएका कृष्णकुमार यादवले संचालन गरेको ‘महेश मेडिकल हल’मा औषधी व्यवस्था विभागले मंगलबार गरेको अनुगमनको क्रममा डाक्टरबाट सिफारिस नै नभएका औषधी बिरामीलाई आफूखुसी बेच्ने गरेको पाइएपछि यस्तो रहस्य बाहिर आएको छ ।
मोरङको जहदा गाउँपालिका–२ की ७० वर्षीया वृद्धा दुर्गादेवी पासवान कुटपिटबाट घाइते भए विराट अस्पताल भर्ना भएकी थिइन् ।

उपचारमा संलग्न चिकित्सकले सिफारिस गरेकोभन्दा बाहिरको औषधी दिएको अनुगमनको क्रममा फेला परेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलले बताए ।  चिकित्सकको सिफारिस गरेको भन्दा बाहिरको औषधी आफु अनुकुल कमाउँ धन्दामा फार्मेसी लाग्दा बिरामीको अवस्था गम्भीर बन्दै गएको छ ।

लीलादेवीले फार्मेसीबाट खरिद गरेको औषधि सेवन गराउन थालेपछि सामान्य अवस्थाको बिरामीको स्वास्थ्य झन् जटिल बनेर गएको बताइन् । चिकित्सकले सिफारिस गरिदिएपछि बिरामीलाई आवश्यक औषधि यादवले चलाएको महेश मेडिकल हलबाट लैजाने गरिएको घाइतेकी आफन्त लीलादेवी पासवानले बताइन् ।
विभागका प्रमुख कट्टेलले चिकित्सकले सिफारिस गरेको भन्दा गलत औषधिले बिरामीमा असर गर्ने बताए । ‘चिकित्सकले बिरामीका लागि चारवटा औषधी सिफारिस गरेको पाइयो,’ उनले भने, ‘फार्मेसी सञ्चालकले भने अरु दुईवटा थप गरेर छ वटा औषधि बिरामीलाई विक्री गरेको पाइएको छ ।’

चिकित्सकबाट सिफारिस नै नभएको कडा खालको एन्टिबायोटिक ‘इन्जेक्सन मेनम’ र ग्याष्ट्रिकका बिरामीले प्रयोग गर्ने ‘इन्जेक्सन पेन्टोसिड’ फार्मेसी सञ्चालक आफूलेनै प्रेसक्रिप्सनमा थपेर दिएको अनुगमनको क्रममा फेला परेको छ । उनले चिकित्सकले लेखेको चारवटा र पछि थप गरेका दुईवटा औषधिको अक्षर नमिलेको पनि बताए । बिरामीले खरिद गरेका दुवै औषधि ९ हजारभन्दा बढी मूल्यको रहेको बताइएको छ ।

फार्मेसीमा जाँदा बढी पैसा भएको बिल देखाएपछि बिरामीका आफन्तले सोधीखोजी गरेका थिए । त्यस क्रममा अस्पतालकै स्वास्थ्यकर्मीले चिकित्सकको सिफारिस बिनाको औषधि पनि आफूखुसी बिरामीलाई दिएको फेला पारेका थिए ।

कमाउ धन्दामा लागेको फार्मेसी बन्द

स्वास्थ्यमाथि खेलवाड गर्दै कमाउ धन्दामा लागेको फार्मेशी औषधी व्यवस्था विभाग विराटनगरले विभागले अनिश्चित कालका लागि सिल गरेको छ ।
अनुगमनको क्रममा विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हलले चिकित्सकको सिफारिस बेगारको औषधी विक्री बितरण गरि कमाउ धन्दामा लागेको खुलेपछि मंगलबार शिल गरेको हो ।

औषधिको बिक्री वितरणमा रोक लगाउँदै विराट नर्सिङ होम अगाडि रहेको महेश मेडिकल हलमा ताला लगाइएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बताए । प्रमुख कट्टेलले पसलको सबै कागजात नियन्त्रणमा लिएर छानबिन थालिसकिएको जानकारी दिए । पसलमा बिक्री अनुमतिनै नभएका केही औषधि पनि भेटिएकाले जफत गरिएको उनको भनाइ छ । अनुमति प्राप्त अधिकारीबाट औषधि बिक्री नगर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक यादवलाई दुई महिनाअघि पनि विभागले उपस्थित हुन पत्र काटेको थियो । तर पसल दर्ताको सक्कली प्रमाणपत्र जफत गरेर विभागले लगेको भए पनि अहिलेसम्म उनी हाजिर नभएको पाइएको छ ।

अघिल्लो र अहिलेको दुवै घटनालाई समेटेर दोहोरो कारबाही अघि बढाइने कट्टेलले बताए । सो फार्मेशीलाई औषधि ऐन २०३५ अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने विभागले जनाएको छ ।

विकृति रोक्न माग

औषधी व्यवसायमा देखिएका विकृति र विसंगतिहरुलाई निरुत्साहित गर्न नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले माग गर्दै आएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले विकृति विसंगति अवैध चोरी तस्करी नियन्त्रण गरि विना दर्ताका औषधीहरुको विक्री वितरणलाई कडाइ गर्न विभाग र प्रशानलाई आग्रह गर्दै आएको बताए । ‘हामीले औषधी व्यावसय क्षेत्रमा हुने विकृती रोक्न प्रशान र विभागलाइ ध्यानर्षण गराउँदै आएका छौ,’ उनले भने । यसअघि पनि नेपाल औषधी व्यवसायी संघ झापा, मोरङ र सुनसरी जिल्ला शाखाले औषधी व्यवसायमा देखिएका विकृति विसंगतिहरुलाई निरुत्साहित गराउन माग राख्दै प्रधानमन्त्रीदेखि स्वास्थ्यमन्त्रीसमेत ज्ञापनपत्र बुझाएको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ