२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा बेवारिसे बिरामी नाजुक अवस्थामा, जिम्मा लिने कोही भेटिँएन

कोशी अस्पतालमा बेवारिसे बिरामी नाजुक अवस्थामा, जिम्मा लिने कोही भेटिँएन


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा एक साताअघि आएका एक बेबारिसे युवाको उपचार प्रभावकारी हुन सकेको छैन् । देब्रे खुट्टामा घाउ बोकेर ओखलढुंगा घर बताउने ३५ वर्षीय शंकर मगर एक साताअघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडि बेवारिसे अवस्थामा छन् ।

देब्रे खुट्टा कुहिएर झर्नै लाग्दा पनि उनको उपचार हुन सकेको छैन । ‘म बाँच्न चाहन्छु, उपचार गराइदिनुहोस्,’ उनले भने, ‘मेरो घर ओखलढुंगा हो, आफन्त कोही छैनन् ।’ भारतको हरियाणाबाट फर्कने क्रममा आफूलाई चोट लागेको उनले सुनाए ।

घुँडादेखि तलको भाग कँुहिएको कारणले अस्पतालको आकस्मिक कक्ष वरपर दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि समस्यामा परेका छन् । बिरामीको वरिपरी झिगा भन्किएको छ ।

बेबारिसे अवस्थामा आकस्मिक कक्षको प्रतीक्षालयमा बसेको लामो समय भएपनि ती युवाको प्रभावकारी उपचार हुन सकेको छैन् । अस्पतालले उनको निःशुल्क उपचार सुरु गर्दै एन्टिबायोटिक औषधि पनि चलायो । तर, घाउ ठीक हुनुको साटो उल्टै घुँडादेखि मुनीको भाग कुँहिएको छ ।

घाउ निको नभएपछि उपचारमा संलग्न चिकित्सकले घुँडादेखि तलको भाग काटेर फाल्नुकोे विकल्प नभएको बताएका छन् । अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले औषधिले निको हुन नसके कारण संक्रमण रहेको घुँडादेखि तलको भाग तत्काल काट्नुपर्ने बताए । उनले जतिसक्दो चाँडो काटेर नफाले यसको संक्रमण शरीरका अन्य अंगमा पनि फैलने जानकारी दिए ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले उपचारमा समस्या भएका बेवारिसेको उपचारमा सम्बन्धित निकायले ध्यान नदिएको बताए । तीन तहका सरकार र विभिन्न सामाजिक नाम दिएर खुलेका संस्था आफ्नै स्वार्थमा केन्द्रीत हुँदा रोगले थलिएका र बेवारिसे बनेकाहरु उपचारबिहीन भएर बस्नु परेको ढुँगेलको भनाइ छ ।

आफन्त र परिवारका सदस्य कोही पनि नभएका युवाको चिकित्सकले भनेजस्तो उपचार गर्न समस्या भइरहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताए । ‘खुट्टा काट्नुअघि कानुनी प्रक्रिया पूरा गर्न बिरामी जिम्मा लिने कोही चाहिन्छ,’ उनले भने, ‘सबै कुरा अस्पतालले गरिदिन्छ भन्दा पनि जिम्मा लिने र कुरुवाका रुपमा बस्ने कोही भेटिएनन् ।’ उनले अहिले पनि संक्रमण रोकथामका लागि अस्पतालको सामाजिक सेवा इकाईमार्फत औषधि उपचारलाई भने जारी राखिएको बताए । बुढाथोकीले कोही कसैको अंग काटेर फाल्नुपर्ने जस्तो कुरा भएकाले पनि जिम्मा लिने नभेटिएको हुन सक्ने बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ