२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोवेलको लापरवाही प्रकरण : अस्पतालले तीन लाख दिएर मिलायो विवाद

नोवेलको लापरवाही प्रकरण : अस्पतालले तीन लाख दिएर मिलायो विवाद


विराटनगर – विराटनगरस्थित नोवेल टिचिङ्ग अस्पतालमा चिकित्सकको गम्भिर लापरवाहीले विरामीको मृत्यु भएको भन्दै दुईदिनदेखि चर्किएको विवाद अन्तत मिलेको छ ।

दुई दिनयतादेखि आन्दोलनमा उत्रिएका मृतकका आफन्तलाई बिहीबार नोवेल अस्पताल प्रशासनले क्षतिपूर्तिस्वरूप तीन लाख रूपैयाँ दिएर  विवाद मिलाएको हो ।

पेटमा समस्या भएपछि आइतबार नोवेलमा शल्यक्रिया लागि भर्ना भएकी सोलुखुम्बु नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको मंगलबार मृत्यु भएको थियो । अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त मंगलबारदेखि आन्दोलनमा उत्रिएर अस्पताल तनावग्रस्त बनाएका थिए । दुईदिनसम्म चलेको वार्ता बिना निस्कर्ष टुंगिएको थियो । बिहीबार

पीडितका आफन्त र अस्पतालका प्रवन्धक नारायण दाहालसहित बसेको वार्तामा अस्पतालले उपचार गर्दा लागेको खर्च १ लाख फिर्ता र क्षतिपूर्ति दुईदिनपछि लिने सहमति भएपछि विवाद मिलेको स्रोतको दावी छ । विरामीको मृत्यु भएपछि मृतकका आफन्तले लापरवाही गर्ने चिकित्सकलाई कारवाही गरिनुपर्ने, पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने र मृतकका छोराछोरीको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

‘दुईदिनसम्म लगातार आन्दोलनमा उत्रिएपछि अस्पताल प्रशासनले पीडितका आफन्तलाई वार्तामा बोलाएको थियो,’ वार्तामा सहभागि मृतकका एकजना आफन्तले भने, ‘अस्पतालले लाग्ने सम्पूर्ण खर्च फिर्ता गरिदिने र दुई लाख क्षतीपूर्ति दिने भएपछि सहमति गरेका हौं ।’ अस्पतालले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले शव बुझेर बिहीबार इटहरस्थित बुढी खोलामा अन्तिम संस्कार पनि गरेका छन् ।

यता, अस्पतालकका प्रवन्धक नारयण दाहालले अस्पतालले क्षतिपूर्ति दिएको नभएर मृतकका परिवार आर्थिक अवस्था नाजुक रहेकोले अस्पतालले आर्थिक सहयाता मात्र प्रदान गरेको बताए । ‘यसलाई क्षतिपूर्ति भन्न मिल्दैन,’ उनले भने, ‘हामीले उपचारमा लागेको खर्च मिनाह गर्दै उपचारको क्रममा तिरेको पैसाँ मात्र फिर्ता गरिदिएका हौं ।’

आन्द्रा काटेर मृत्यु भएको परिवारको आरोप

मृतक महिलाका श्रीमान ओम भट्टराईका अनुसार पीसीआर जाँचपछि सोमबार पाठेघरमा भएको ट्युमर शल्यक्रियाको गर्ने भन्दै आइतबार तारालाई अस्पताल भर्ना गरिएको थियो । सोमबार बिहान साढे ९ बजे डाक्टार शान्ति सुवेदीको टिमले शल्यक्रियाका लागि अप्रेशन थिएटरभित्र लिएर गए । करिब एक घण्टा पछि शल्यक्रिया सफल भएकाले आइसियूमा राख्नका लागि लगियो ।

अप्रेशन थिएटरबाट निकाल्दा श्रीमतीको अवस्था सामान्य रहेको उनले बताए । आइसियूमा रहेकी श्रीमतीको तुरुन्त अप्रेशन गर्नु पर्ने भन्दै चिकित्सकको टोलीले सोमबार बेलुका जानकारी गराए । हत्तारमा रहेका चिकित्सकले अप्रेशन थिएटरमा लिएर गएको करिब आधा घण्टा पछि अचेत अवस्थामा अक्सिजनसहित बाहिर निकालेर भेण्टिलेटरमा राखे ।

मंगलबार विहान मृत्यु भएको जानकारी गराएको ओमले बताए । ‘पाठेघरको शल्यक्रिया गर्दा आन्द्राको ट्यूमर देखिएको भन्दै चिकित्सकले पाठेघर र ट्यूमर फालेको बताउँदा धन्यवाद दिएका थिए,’ उनले भने ‘ शल्यक्रिया अघि परीक्षण गर्दा ट्यूमर देखिएको थिएन् । चिकित्सकले  एक्कासी ट्यूमर रहेको बताएपछि छक्क परे ।’ ट्यूमर निकाल्ने बाहानामा चिकित्सकले विरामीको आन्द्रा काटिदिएको उनको आरोप छ ।

‘बेलुका रगत रोकिएन भन्दै शल्यक्रिया गर्न लिएर गए,’ उनले भने, ‘केही समयपछि अचेत अवस्थामा निकालेर भेण्टीलेटरमा राखे, भोलिपल्ट बिहान मृत्यु भएको जानकारी हामीलाई दिए ।’

पाठेघरको अप्रेशन गर्दा आन्द्रा काटिदिएका श्रीमतीको मृत्यु भएको उनको भनाइ छ । ‘पाठेघरको अप्रेशन भने तर जानकारी नदिइ आन्द्रा काटिदिए,’ उनले भने, ‘अस्पताल र चिकित्सकको लापरवाहीले श्रीमतीको मृत्यु भयो ।’ मृत्युपछि उपचारमा लापरवाही गर्नेलाई कारवाहीको माग गर्दै आन्दोलन गरेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ