२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङ र सुनसरीका ६ उद्योगले उत्पादन गरेको सेनिटाइजरमा हानिकार मिथानोल

मोरङ र सुनसरीका ६ उद्योगले उत्पादन गरेको सेनिटाइजरमा हानिकार मिथानोल

मिथानोल मिसाइएको सेनिटाइजर नष्ट


विराटनगर—मोरङ र सुनसरीका ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा स्वास्थ्यलाई असर गर्ने विषाक्त रसायन (मिथानोल) मिसाएको भेटिएको छ । औषधि व्यवस्था विभाग विराटनगरले नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका ६ उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानलको मात्र धेरै मिसाएको भेटिएको हो ।

प्रयोगशालाबाट मिथानोल मिसाएको पुष्टि भएको रिपोर्ट औषधि व्यवस्था विभाग विराटनगरले पाएपछि विराटनगर १५ स्थित अनिल चौधरीले संचालन गरेको ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर नष्ट गरेको छ । विभागले तोकेको मापदण्ड पूरा नगरेपछि गत असोज १३ गते औषधि व्यवस्था कार्यालय विराटनगरले ग्यालेक्सीले उत्पादन गरेको सेनिटाइजर उद्योग अनुगमन गरि १ सय ९४ कार्टुन सेनिटाइजर जफत गरेको थियो ।

नमूना संकलन गरी सो उद्यागेले उत्पादन गरेको सेनिटाइजर परीक्षण गर्न राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । हालै आएको रिपोर्टमा ग्यालेक्सीसहित मोरङ र सुनसरीका ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरकमा मिथानोल प्रयोग गरेको भेटिएको हो । मिथानोल प्रयोग गरेको पुष्टि भएपछि ग्यालेक्सी सर्जिकलले उत्पादन गरेको १ सय ९४ वटा कार्टुनमा रहेको करिब २ हजार लिटर स्यानिटाइजर औषधि व्यवस्था विभागले नष्ट गरेको छ ।

यसैगरी, उमानन्द यादवले संचालनमा ल्याएको सुनसरीको नरसिङ गाउँपालिका—४ स्थित ‘सीता हर्बल क्यामिकल उद्योग’, धरानस्थित मकालु जडिबुटी उद्योग प्रा.लि., विराटनगरका सुनिमा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल प्रयोग भएको पुष्टि भएको छ ।

‘मोरङ र सुनसरीको ७ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरको स्याम्पल कलेक्सन गरेर राष्ट्रिय औषधि प्रयोगशालमा परीक्षणको लागि पठाएका थियौं,’ औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले भने, ‘केही दिन अगाधि आएको रिपोर्टमा ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजरमा मिथानोल प्रयोग गरेको भेटिएको छ ।’ ६ वटा उद्योगले उत्पादन गरेको सेनिटाइजर बजारमा भेटिए जफत गरेर नष्ट गरिने विभागले जनाएको छ । मिथानोल प्रयोग गरेको सुमिना उद्योगको विभागले अहिले पनि ठेगाना पत्ता लगाउन सकेको छैन । ठेगाना विराटनगर भएपनि कहाँ भएको जानकारी नपाएपछि खोजी गरिदिन विभागले मोरङ प्रहरीलाई आग्रहसहित पत्राचार गरेको छ ।

विषाक्त रसायन (मिथानोल) मिश्रित ह्यान्ड सेनिटाइजरको प्रयोगले हात सुनिने, फुस्रो हुने, फुट्ने, मानिस कोमामा जाने र मान्छेको मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ । त्यसैले, बजारमा मिथानोल प्रयोग भएका ह्यान्ड सेनिटाइजरलाई रोक लगाइएको विभागले जनाएको छ । विभागले यसअघि रोक लगाएका १८ प्रकारका सेनिटाइजरमध्ये १४ वटामा मिथानोल प्रयोग भएको पाइएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ