२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

मोरङमा कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु


विराटनर – कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण हेड क्वार्टर कंकालिनीमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक ३३ वर्षीय नविन बुढाथोकीको सोमबार राति मृत्यु भएको हो ।

विराट मेडिकल तथा शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा बुढाथोकीको राति ११ः२२ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणले अवस्था गम्भीर बन्दै गएपछि पछिल्लो समय बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई सुरुमा आईसीयूमा राखिएको थियो । स्वास्थ्य खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनि उनलाई बचाउन नसकिएको देवले बताए ।

उपचारका क्रममा बुढाथोकीको दुईपटक प्लाज्मा थेरापी गरिएको थियो । भने, १० पटकसम्म रेम्डिसिभिर नामक औषधी पनि चलाइएको देवले बताए । उनका अनुसार कोरोना संक्रमणसँगै सुरुमा अस्पताल भर्ना हुँदादेखि नै फोक्सोमा समस्या देखिएको थियो । उनलाई टाइफाइडको पुरानै समस्या रहेका इन्सपेक्टर बुढाथोकीले त्यसको औषधि पनि नियमित सेवन गरिरहेका थिए ।
शवको विराटनगरस्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार मृतक बुढाथोकीको काकाले अन्त्येष्टि गरेका छन् ।

सशस्त्र प्रहरी वल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले इन्सपेक्टर बुढाथोकीको निधनले सिंगो संगठनलाई क्षति पुगेको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ