२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलको विद्यार्थी मारा नीति : शुल्क बुझाउन ढिलो हुँदा १ लाख २० हजारसम्म जरिवाना

नोबेलको विद्यार्थी मारा नीति : शुल्क बुझाउन ढिलो हुँदा १ लाख २० हजारसम्म जरिवाना

नदिए परीक्षाबाट बन्चित


विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलले विद्यार्थीहरूसँग जरिवनाको नाममा मनपरी रकम असुली गर्ने गरेको पाइएको छ । नोबेल मेडिकल कलेजमा ‘डिम्पलोमा इन फार्मेसी’ अध्ययन गर्दै आएका विद्यार्थीहरूले समयमा शुल्क बुझाउन नसक्दा जरिवानाको नाममा मनपरी रकम असुल्ने गरेको पाइएको हो ।

अस्पतालले तोकेको जरिवाना शुल्क विद्यार्थीले नबुझाए परीक्षाबाट बञ्चित गराइदिने धम्की दिने गरेको विद्यार्थीहरूको गुनासो छ । ‘डिम्पोमा इन फार्मेसी’को तीन वर्षको कोर्स पूरा गरेको शुल्क नोबेलले ३ लाख ३७ हजार रुपैयाँ तोकेको छ । कोर्स पूरा गरेको शुल्क लिन नोबेल प्रशासनले विद्यार्थीको अभिभावक मारा नीति अख्यितार गरेको छ ।

नोबेल प्रशासनले बनाएको मापदण्ड अनुसार विद्यार्थीले शुल्क नबुझाए जरिवानाको नाममा चर्को रकम विद्यर्थाीहरूबाट असुल उपर गर्दै आएको छ । सो मापदण्ड अनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३-३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने नियम छ । नोबेलले तोकेको समय भित्र शुल्क नबुझाए विद्यार्थीहरु चर्को जरिवानामा पर्ने गरेका छन् ।

कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि नोबेलमा परीक्षा फारम भर्न आएका विराटनगरका ‘डिम्पलोमा इन फार्मेसी’को चौथो वर्षमा अध्ययरत एक छात्रले समयमा शुल्क नबुझाएको भन्दै जरिवना  बापतकाे १ लाख २० हजार १ सय ६० रुपैयाँ मागेको बताए । कोरोना संक्रमणका कारण अध्ययनदेखि परीक्षा प्रणालीमा समेत असर पुगेको बेला नोबेलले भने शुल्क बुझाउन बिलम्ब भएको दाबी गर्दै विद्यार्थीसँग जर्बरजस्ती जरिवाना भराउन थालेको ती विद्यार्थीको आरोप छ । विद्यार्थीले समयमै शैक्षिक शुल्क वापतको किस्ता रकम नबुझाएको आरोपमा कारवाहीस्वरुप असुल्ने जरिवाना रकम भने वार्षिक शुल्क बराबरकै रहेको छ ।

‘कसलाई कति लिन सकिन्छ, त्यति लिने गरी व्यक्तिपिच्छे दबाव सिर्जना गरिएको छ, ‘दोस्रो र तेस्रो वर्षको ‘ब्याक पेपर’ को परीक्षा फारम भर्न आएका ‘डिम्पोमा इन फार्मेसी’ अध्ययरत ती विद्यार्थीले भने, ‘मसँग नोबेल कलेजले १ लाख २० हजार १ सय ६० रुपैयाँ मागेको छ । जरिवाना रकम नुबझाए ‘ब्याक परीक्षा’बाट बन्चित गराइदिने धम्की पनि दिँदै आएको छ ।’

उक्त विद्यार्थीको दोस्रो वर्षमा एउटा र तेस्रो वर्षमा २ वटा ब्याक लागेको छ । ‘जरिवाना लागेको शुल्क नोबेल अस्पतालको लेटर प्याडमा लेखेर दिन आग्रह गर्दा पनि प्रशासनले मान्ने गरेको छैन,’ ती विद्यार्थीले भने, ‘कलेज जाँदा नोबेल प्रशासनले सादा पेपरमा तीन वर्षको १ लाख २० हजार १ सय ६० रुपैयाँ जरिवाना भन्दै अहिले ब्याक परीक्षाको फारम पनि भर्न दिएको छैन ।’ आउँदो मंसिर १४ गतेसम्म ब्याक लागेका विद्यार्थीले फारम भरिसक्नुपर्ने छ । १४ मंसिरसम्म फारम भरेन भने विद्यार्थी परीक्षाबाट बन्चित हुन्छन् ।

‘डिम्पोमा इन फार्मेसीमा भर्ना भएका विद्यार्थी अहिले नोबेलको प्रशासनका कारण दवाबमा परेका छन् । प्रशासनले जरिवाना रकम नबुझाए परीक्षाबाट बन्चित हुने धम्की दिएको कारण जरिवाना तिर्न नसक्ने विद्यार्थीहरू मानसिक तनावमा परेका छन् ।

नोबेल प्रशासनले यस अघि विद्यार्थीले बुझाएको शुल्क बापतको रसिद दिने गरेको छैन । ‘बैंकमा जम्मा गरेर भौचर समेत हरायो भन्छन्, ती विद्यार्थीले भने, ‘बैंक स्टेटमेन्ट पेस गर्दा पनि मान्दैनन् । जरिवाना नबुझाउँदासम्म परीक्षा फारम समेत लिन नमानेकोले दवाबमा परिएको ती विद्याथीको भनाई छ ।

फार्मेसीकै अर्का विद्यार्थीले नाम नखुलाउने शर्तमा भने कलेज प्रशासनले परीक्षाबाट बन्चित गराउने धम्कीसहित जरिवानाको नाममा रकम बार्गेनिङ गरिरहेको छ । फार्मेसीका विद्यार्थीसँग जस्तै नोबेलले ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग समेत त्यस्तै बार्गेनिङ गरेको गुनासो सामाजिक सञ्जाल फेसबुक पेजमा सार्वजनिक गरिएको छ । विराटनगरका युवा योगराज आशिष दाहालले आफ्नो फेसबुक पेजमा नोबेलले जरिवाना बापत असुलेको रकमको बिलसहित सार्वजनिक गरेका छन् । विद्यार्थीले बुझाउनु पर्ने ३८ हजार भएपनि त्यसमा ६० हजार थपेर ९८ हजार बुझाउनु परेको उल्लेख दाहालले गरेका छन् ।

जरिवाना वापतको रकम नबुझाएको अवस्थामा परीक्षामा सामेल हुन नपाउने धम्की दिएका कारण विद्यार्थीलाई चौतर्फी दवाब परेको हो । तोकेको तिर्ने की पढाइ छोडेर घर फिर्ने ? भनेर धम्की दिए, अर्का विद्यार्थीले भने–परिवारमा समेत नोबेलले फाटो ल्याइदियो । नोबेल कलेजमा अध्ययनका लागि शुल्क बुझाइसकेका विद्यार्थीले पुनः अभिभावकसँग रकम मागेर बुझाउनुपर्दा पारिवारिक समस्या समेत भोग्नु परेको गुनासो गरेका छन् ।

नोबेल मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रामहरी घिमिरेले मिडियासँग गुनासो गर्ने विद्यार्थीहरुलाई आफ्नो सम्पर्कमा पठाइ दिन आग्रह गरे । उनले सुरु भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौताका आधारमा जरिवाना लिएको प्रतिक्रिया दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ