२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १तीन जिल्लाका बिरामी दमक अस्पतालमा, २० करोडभन्दा बढी लागतमा नयाँ भवन बन्दै

तीन जिल्लाका बिरामी दमक अस्पतालमा, २० करोडभन्दा बढी लागतमा नयाँ भवन बन्दै


विराटनगर – झापाको दमकमा रहेको एकमात्र सरकारी अस्पतालमा स्तरउन्नतीको काम भइरहेको छ । वर्षौं पुरानो भएको कारण जिर्ण रहेको दमक अस्पतालको नयाँ भवनको निमार्णको काम हालै अगाडी बढेको हो ।

अस्पताल परिसरभित्र ‘एल’ आकारमा सुविधा सम्पन्न अस्पताल बन्दैछ । यसका लागि लुम्बिनी अर्घखाँची जेभिले ठेक्का पाएर काम गर्दैछ । नयाँ बन्ने भवन निमार्णको काम २५ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । अहिले जग खनेर आवश्यक पर्ने अन्य प्राविधिकीय कामको ६० प्रतिशतभन्दा बढि काम भएको दमक नगरपालिका योजनाका शाखाका गंगाराम कोइरालाले जानकारी दिए ।

‘यहि रफ्तारमा काम हुने हो भने सम्झौता गरेको मिती सम्ममा काम सकिने छ,’ उनले भने, ‘निर्माण पूरा भइ हामीलाई हस्तान्तरण गरेपछि नयाँ भवनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ ।’

अस्पताल निर्माणका लागि दमक नगरपालिकाले निर्माण कम्पनीसँग २०७७ असार १९ गते सम्झौता गरी साउन ४ गतेदेखि निर्माणको काम सुरु गरेको हो। काम सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने गरि लुम्बिनी अर्घखाँची निर्माण सेवाले २० करोड ४ लाख २९ हजार ४ सय ८ रुपैँयाको लागतमा ठेक्का पाएको छ । उक्त बजेट दमक नगरपालिका र संघिय सरकारको संघिय ससर्त अनुदानबाट बिनियोजन भएको दमक नगरपालिकाले जनाएको छ ।

यस्ता छन् अस्पतालमा सेवा

२०७३ सालमा हेल्थ पोष्टबाट स्तरउन्नती भएर १५ शैय्याको दमक अस्पताल बनेको हो । अस्पतालमा स्तरउन्नती भएपछि यहाँबाट प्रवाह हुने सेवाहरुपनि विशिष्टिकृत हुँदै गएको छ । २४ सै घण्टा प्रसुति सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, अन्तरङ्ग सेवा, हाडजोर्नी, बालरोग, यौन तथा छालारोग, नाक, कान र घाँटी तथा दन्त रोग, रेडियोलोजी, मानिसिक रोग लगायतका सेवाहरु छन् ।

सेवा बढ्दै गएपछि सेवाग्राहीको भीड बढेको अस्पतालले जनाएको छ । ‘यसरी बढेको भीडलाई थेग्न यसै पनि वर्षौ देखि पुरानो भवन आफै जीर्ण त्यसमा पनि सबै सेवा एकैठाँउबाट प्रवाह गर्न निकै सास्ती थियो । यद्यपी नयाँ भवन अझै बनिनसकेका कारणले पनि यो समस्या कायमै छ,’ अस्पतालमा लामो समय देखि ल्याव टेक्निसियनका रुपमा कार्यरत तथा प्रयोगशाला इन्चार्ज लोकनाथ पौडेलले भने, ‘अहिले मौजुदा रहेको अस्पतालमा काम गर्न निकै गाह्रो छ । सेवाग्राहीको भिड थेगीनसक्नुको छ । नयाँ भवन भनेपछि यी समस्या समाधान हुने हामीले आशा गरेका छौं ।’

तीन जिल्लाका विरामी दमक अस्पतलामा

झापाको दमक अस्पतालमा तीन जिल्लाका सेवाग्राही आउने गरेका छन् । मुख्य सेवाग्राही झापाको पश्चिमतर्फका सबै स्थानिय तह, इलामको पश्चिम दक्षिण क्षेत्रका नागरिक र मोरङ पूर्वी उत्तरी क्षेत्रका विरामीहरु यस अस्पतालमा आएर उपचार गर्दै आएका छन् । उक्त अस्पतालमा मोरङको उर्लाबारी, मिक्लाजुङ, मधुमल्ला, राजघाटसम्मका विरामी गएर उपचार गर्दै आएका छन् ।

हाल दैनिक ३ सय देखि ६ सय जना दैनिक विरामीले सेवा लिदै आएको अस्पतालले जनाएको छ ।  यस क्षेत्रका नागरिकले सर्वसुलभरुपमा स्वास्थ्य सेवा पाउन भन्नका लागि दमक नगरपािलकाकी उप प्रमुख तथा अस्पताल व्यवस्थापन समिती अध्यक्ष गीता अधिकारी काठमाण्डौमा पुगेकी थिइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो योजना पारित गरिदिएपछि अर्थमन्त्रालयले बजेटको सुनिश्चित गरेपछि मात्र दमक अस्पताल निर्माण हुन थालेका उपप्रमुख अधिकारीले बताइन ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ