२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कमिसनको चक्करमा डाक्टर : दर्ता नै नभएका ‘न्युट्रासिटिकल्स’ बिरामीलाई

कमिसनको चक्करमा डाक्टर : दर्ता नै नभएका ‘न्युट्रासिटिकल्स’ बिरामीलाई


विराटनगर—विराटनगरका नाम चलेका ठूलो अस्पताल र सरकारी अस्पतालका चिकित्सकहरूले औषधी व्यवस्था विभागमा दर्ता नभएको खाद्यपुरक सामाग्री (डायटरी सप्लीमेन्ट र न्युट्रासिटिकल्स) बिरामीलाई प्रेस्क्राइब गरिदिने गरेको पाइएको छ ।

यसले उपभोक्तमाथि अन्याय गरिरहेको विज्ञहरु बताउँछन् । औषधी उत्पादन कम्पनीले दिने कमिसन तथा अन्य विविध कारणले गर्दा विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेजलगायतका केही अस्पताल तथा डाक्टरहरुले समेत यी सामग्री प्रमुख औषधीका रुपमा सिफारिस गरिदिने गरेको भेटिएको हो ।

जबकी नियमअनुसार डाक्टरले यस्ता समाग्री सिफारिस गर्न पाउँदैनन् । चिकित्सकीय उपचारमा प्रयोग हुनेभन्दा कम मात्रामा उपलब्ध भिटामिन, मिनिरललगायतका धरै समिश्रणहरुलाई हालसम्म औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।

खाद्यपुरक सामग्री (डायटरी सप्लीमेन्ट र न्युट्रासिटिकल्स) औषधी व्यवस्था विभाग दर्ता नभएकोले विभागले यसअघि बिरामीलाई सिफारिस नगर्न सूचना जारी गरेको छ । विभागले डायटरी सप्लीमेन्ट र न्युट्रासिटिकल्स आयात, बिक्री र चिकित्सकलाई प्रेस्काइब गर्न नपाइने भनेर गत २ भदौमा दर्ता नभएका यस्ता समाग्री बिक्री वितरण नगर्न सूचना जारी गरेको थियो ।

विभागले सूचना जारी गर्दै डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स गैर कानुनी रुपमा आयात गरी औषधी पसलबाट फर्मास्युटिकल बनावट (ट्यावलेट÷क्याब्सुल÷सिरप) मा गरी गैर कानुनी रुपमा विक्री वितरण भएको भन्दै यस्ता औषधी पैठारी, बिक्री वितरण, संचय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सम्बन्धितलाई सूचित गरेको छ । विभागमा दर्ता नभएका यस्ता सामाग्रीहरू विराटनगरका ठूला हस्पिटलका चिकित्सकले बिरामीलाई प्रेस्काइब गर्ने गरेको अनुगमनको क्रममा पाइएको छ ।

न्युट्रासिटिकल्सको नाममा औषधीजस्तो देखिन त्यस्ता समाग्रीहरुप्रति बिरामी भ्रममा पर्ने भएको यस्ता सामाग्री सिफारिस नगर्न विभागले निर्देशन गरेको हो । औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले बिहीबार कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई भेटर दर्ता नभएका खद्यपुरक औषधी सिफारिस नगर्न ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । ‘अनुगमनको क्रममा विभागमा दर्ता नभएका आहार पुरक न्युट्रासिटिकल्स सामाग्री प्रेस्क्राइब गरिएको भेटिको छ । यस्तो सामाग्री चिकित्सकले बिरामीलाई सिफारिस गरेको भेटिएको फेला परेको हो,’ विभागका प्रमुख कट्टेलले भने, ‘हामीले यसअघि पनि सचेत गराएका छौं । यस्ता सामाग्री विरामीलाई सिफारिस गरेको पाइए कानुनअनुसार कारवाहीको दायरामा ल्याउनेछौं ।’

यस्ता सामाग्री बिक्री वितरण भएको पाइएमा औषधी ऐन २०३५ बमोजिम कारवाही हुने विभागले सूचनामार्फत चेतावनी दिएको छ । औषधी ऐनको दफा ३४ को उपदफा १ मा दर्ता नगरेको भेटिए ३ वर्षसम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । ‘यसअघि कोभिडको समयमा न्युट्रासिटिकल्स सामाग्री नियन्त्रणमा आएको थियो,’ उनले भने, ‘अहिले अनुगमनको क्रममा चिकित्सकले सिफारिस गरेको न्युट्रासिटिकल्स देखिन थालेको छ । यस्ता सामाग्री हामी बरामद गरेर नष्ट गर्नेछौं ।’ विभागमा दर्ता नभएको न्युट्रासिटिकल्स सामाग्री महंगो मूल्यमा बिक्री हुने गरेको छ । जसले गर्दा बिरामीलाई भार पर्दछ ।

प्रतिबन्धित न्युट्रासिटिकल्स बरामद

औषधी व्यवस्था विभाग विराटनगरले ठूलो परिमाणमा न्युट्रासिटिकल्स सामाग्री बरामद गरेको छ । विराटनगरमा फार्मेसी अनुगमन गरेर औषधी व्यवस्था विभाग विराटनगरले ठूलो परिमाणमा दर्ता नभएका न्युट्रासिटिकल्स बरामद गरेको हो ।

विराटनगरका आधा दर्जन औषधी पसलहरू अनुगमन गरेर विभागले बिहीबार सप्लीमेन्ट र न्युट्रासिटिकल्स सामाग्रीहरू बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जीव शर्मा कट्टेलले जानकारी दिए ।

विभागले बिहीबार विराटनगर—९ स्थित युनिटी ड्रग हाउसमा अनुगमनका क्रममा दर्ता नभएको २९ प्रकारका न्युट्रासिटिकल्स ६ कार्टुन बरामद गरेको छ । यस्तै, विराटनगर—९ रंगेली रोडमा रहेको हेमगिरी मेडिकोबाट ३ प्रकारका दुई कार्टुन न्युट्रासिटिकल्स बरामद गरेको छ । यस्तै, विभागले लाइफ फार्मेसी र सिद्धी बिनायक फार्मेसीदेखि पनि न्युट्रासिटिकल्स बरामद गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ