२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १रंगेली अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामी मर्कामा

रंगेली अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामी मर्कामा


विराटनगर–गर्भवती भएकी मोरङको रतुवामाई नगरपालिकाकी ३५ वर्षीया कुमारी ऋषिदेव सोमबार रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड गराउन आएकी थिइन् । पेटभित्र भएको बच्चा र स्वास्थ्य अवस्था जानकारी लिन उनी स्वास्थ्य जाँच गराउन आएकी थिइन् । एक सातामा तीन पटक मात्र अल्ट्रासाउण्ड हुने अस्पतालका कर्मचारीले जानकारी दिएपछि उनको त्यस दिन रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड हुन सकेन । घरदेखि ६ किलोमिटर दूरीमा रहेको रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड गराउन आएकी कुमारी समय खर्चेर विराटनगरमा आएर स्वास्थ्य जाँच गराउन बाध्य भइन् । स्थानीय अस्पतालमा उपचार गराए समयको बचत र खर्च पनि कम हुने भएकाले कुमारी रङ्गेली आएका थिइन् । तर, त्यहाँ उपार हुन नसकेपछि करिब २५ किलोमिटर दुरीमा रहेको विराटनगरको एक निजी अस्पतालमा आएर अल्ट्रासाउण्ड गराइन् ।

कुमारी त प्रतिनिधी पात्र मात्रै हुन् । रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड गराउने उपकरण भएपनि कन्सल्टेन्ट रेडियोलोजिष्टको दरबन्दी नहुँदा कुमारी मात्र होइन् यहाँ आउने सयौंका संख्यामा विरामीले निजी अस्पतालमा गएर स्वास्थ्य जाँच गराउन बाध्य छन् । एक सातामा तीन पटक मात्र यस अस्पतालमा विराटनगरबाट आएका कन्सल्टेन्ट रेडियोलोजिष्टबाट अल्ट्रासाउण्ड हुने भएकोले विरामीहरू समय खर्चेर प्रदेश १ को रजधानी विराटनगरमा आउन बाध्य भएका हुन् ।

पहिले जिल्ला अस्पताल रहेको उक्त अस्पताल अहिले स्थानीय तहअन्र्तगत रहने गरी रङ्गेली अस्पताल भएको छ । कन्सल्टेन्ट रेडियोलोजिष्टको दरबन्दी नहुँदा अस्पतालले स्वास्थ्य जाँच गराएको आम्दानीको आधाभन्दा बढी पैसा चिकित्सकलाई दिने सम्झौता गरी विराटनगरबाट चिकित्सक ल्याउनु परिरहेको छ । सातामा आइतबार, मंगलबार र बिहीबार मात्र कन्सल्टेन्ट रेडियोलोजिष्टबाट अल्ट्रासाउण्ड हुने गरेको छ । अल्ट्रासाण्ड गराएको पाँच सय रुपैयाँ मध्ये तीन सय रुपैयाँ विराटनगरबाट आएका चिकित्सकलाई दिने गरिएको छ भने दुई सय रुपैयाँ अस्पतालले राख्ने गरेको छ ।

आफूलाई भनेको बेलामा अल्ट्रासाउण्ड नभएपछि विराटनगर गएर उपचार गराउने अस्पतालमा भेटिकी खिनाकुमारी सरदारले बताइन् । ‘हप्तामा तीन पटक मात्र रङ्गेली अस्पतालमा अल्ट्रासाउण्ड हुने गरेको छ,’ उनले भनिन्, ‘त्यो पनि बिहान मात्र । यति ठूलो अस्पतालमा दैनिक रुपमा सेवाग्राहीले चाहेको बेला अल्ट्रासाउण्ड नहुँदा समस्या छ ।’ सातामा तीन पटक अल्ट्रासाउण्ड गराउँदा विरामीको भिड पनि अत्याधिक हुने गरेको उनले बताइन् । ‘सबै विरामीलाई एकै दिन बोलाउने गरेको छ,’ उनले भनिन्, ‘पालो आउन पनि धेरै समय लाग्ने गरको छ ।’ स्थानीयले अल्ट्रासाउण्ड गराउने चिकित्सकको दरबन्दी कायम गराएर दैनिक रूपमा उपचार गराउन माग राख्दा पनि हालसम्म सुनवाइ हुन सकेको छैन् ।

यता अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या आएको बताए । जिल्ला अस्पताल रहँदा ४५ जनाको दरबन्दी रहेकोमा अहिले घटेर २८ जनाको दरबन्दी रहेको छ । ‘त्यो पनि अहिलेसम्म दरबन्दीअनुसार चिकित्सक आएका छैनन्,’ उनले भने, ‘भएको कर्मचारी पनि समायोजनमा गएपछि ३ जना मेडिकल अफिसर अहिले सेवा दिदैं आएका छन् ।’ सातामा तीन पटक अल्ट्रासाउण्ड हुने गरेको बताउँदैं उनले दिनमा ४५/५० जनाको अल्ट्रासाउण्ड गर्नुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा दैनिक २ सय जना सेवाग्राहीले सेवा लिने गरेको छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ