२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १म्याद सकिएको खाद्यवस्तुमा नयाँ स्टीकर लगाएर बिक्री, उद्योगी बोहोरालाई तीन लाख जरिवाना

म्याद सकिएको खाद्यवस्तुमा नयाँ स्टीकर लगाएर बिक्री, उद्योगी बोहोरालाई तीन लाख जरिवाना


विराटनगर—उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै विराटनगर–७ जैसानी ट्रेड कन्सर्नले पाँच वर्ष अगाडि म्याद सकिएको खाद्यवस्तु विक्री वितरण गरेको भेटिएको छ । म्याद सकिएको खाद्यवस्तु विदेशी ब्राण्डको टोर नाम गरेको ‘रहर’को दालको बोरामा नयाँ लेबल (स्टीगर) लगाएर बजारमा बिक्री वितरण गरेको पाइएको हो ।

विराटनगरका प्रतिष्ठित उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहोराको घर पछाडि रहेको गोदाममा निखिल जैससानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सनले विदेशी ब्राण्डका रहरको दाल आयत गरेर विराटनगरसहित देशभरी सप्लाई गर्दै आएको छन् । निखिल उद्योगी बोहोराका भान्जा हुन् ।

बोहोराले आयत गरेको विदेशी ब्राण्डको रहरको दाल ठूलो परिमाणमा म्याद सकिएको अवस्थामा भेटिएको हो । अनुगमनको क्रममा गम्भीर लापरबाही गरेको भेटेपछि भारतदेखि खाद्यवस्तुको आयतकर्ता जैसानी ट्रेडलाई तीन लाख रूपैयाँ जरिवना गरेको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा बुधबार गरेको अनुगमनको क्रममा जैसानी टे«ड कन्सर्नको गोदाममा मात्र विदेशी ब्राण्डका ४० टन रहरको दाल बरामद गरेको वाणिज्य कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । १५ केजी तौल भएको बोरा मात्र २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको छ । यो बाहेक बजारमा पनि म्याद सकिएको ठूलो परिमाणमा रहरको दाल पठाएको हुनसक्ने भएकोले वाणिज्य कार्यालयले बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

सन् २०१३ मा उत्पादन भएको विदेशी ब्राण्डको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५ रहेको छ । तर, कमाउन धन्दामा लागेका व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर खुल्लेआम बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा फेला पारेको हो । व्यापारी बोहोराले म्याद सकिएको खाद्यवस्तु विक्री गर्न निकै चलाखी गरेको पाइएको छ । उनले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल (स्ट्रिकर) राखेर विदेशी ब्राण्डको रहरको दाल बजार पठाउने कर्तुत बाहिर आएको छ ।

‘म्याद सकिएको खाद्यवस्तुको बोरामा नयाँ उपभोग्य मिति भएको लेबल राखेर बिक्री वितरण गरेको कसुर हो । यो कसुर उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिमको हो,’ निमित्त कार्यालय प्रमुख पोखरेलले भने, ‘सोही कसुर बमोजिम जैसानी ट्रेड कन्सर्नलाई ३ लाख रूपैयाँ जरिवाना गरिएको छ । बिक्री गर्न गोदाममा स्टकमा राखिएको दाल बिक्री वितरणमा तत्काल रोक लगाइयो । अहिले शिलबन्दी गरिएको छ ।’ थप अनुसन्धानपछि म्याद सकिएको रहरको दाल नष्ट गरिने उनले जानकारी दिए ।

थप दुई फर्म पनि कारवाहीमा

जैसानी ट्रेड कन्सर्नले बजारमा पठाएको अन्य डिलर खुद्रा पसलमा गरेको अनुगमनको क्रममा दुई वटा व्यापारी फर्ममा म्याद सकिएको रहरको दाल भेटिएको छ । विराटनगरको गुद्रीमा रहेको अनोखी ट्रेड एण्ड सप्लायर्स र ओम किराना पसलमा जैसानी ट्रेडले पठाएको रहरको दाल म्याद सकिएको भेटिएको हो ।

विराटनगरको गुद्रीमा रहेको अनोखी ट्रेड एण्ड सप्लार्यमा १२ बोरा र ओम किराना पसलमा ३ बोरामा रहरको दाल म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । अनोखीलाई २० हजार र ओम किरानलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

‘बजार अनुगमनको क्रममा सुरूवातमा दुई वटा फर्ममा गरेको अनुगमनको क्रममा रहरको दाल म्याद सकिएको भेटियो । कहाँबाट खरिद गरेको भन्दै सोधीखोजी गर्दा जैसानी टे«ड कन्सर्नले म्याद सकिएको दाल बजारमा पठाउने गरेको जानकारी पाइएपछि अनुगमन गर्दा ठूलो परिमाणमा म्याद सकिएको रहरको दाल बरामद गरिएको हो,’ उनले भने ।

म्याद सकिएको खाद्यवस्तुले ज्यान जानसक्ने खतरा स् चिकित्सक

म्याद सकिएको खाद्यवस्तुको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सकहरूले बताएका छन् । विराटनगरस्थित कोशी अस्पतालका फिजिसियन डा. लक्ष्मीनारायण यादवले म्याद सकिएको खाद्यवस्तुको सेवनले धेरै साइट इफेक्टहरू गर्ने बताए ।

‘म्याद गुज्रेको खाद्यवस्तुले तत्काल र लङ टर्म साइट इफेक्ट गर्दछ,’ फिजिसियन डा. यादवले भने, ‘तत्काल देखिने समस्या डाइरिया, वाकवाकी लाग्नुलगायतका अन्य थुप्रै समस्या हुने गर्दछ । लङ् टर्ममा देखिने भनेको समस्या लिभर, किटनी, मुटु समेत समस्या गर्दछ ।’

समयमा उपचार भएन भने बिरामीको ज्यान समेत जानसक्ने उनले बताए । ‘म्याद सकिएको खाद्यवस्तुको सेवनले शरीरमा डावर पनि आउने गर्दछ,’ उनले भने, ‘यो भनेको ठूलो खालको हुन्छ । यसको उपचार तत्काल भएन भने विरामीको ज्यान पनि जानसक्ने खतरा हुन्छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ