२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १भारतमा कोरोना बढेसँगै दोस्रो लहरको त्रास

भारतमा कोरोना बढेसँगै दोस्रो लहरको त्रास

सिमा नाकामा आउजाउको लर्को


विराटनगर – छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । भारतमा संसारकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको बेला खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्नेहरुको सीमा नाकामा लर्को लाग्ने गरेको छ ।

सीमा नाकामा पर्याप्त चेकजाँच विना स्वास्थ्य सुरक्षा सतर्कता नअपनाइकन आवतजावतले संक्रमण बढने खतरा भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । लामो र खुला साँधको जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रनेहरुका कारण संक्रमणको जोखिम उच्च भएको हो ।

मुख्य नाकाबाटभन्दा चोरबाटो हुँदै आउनेहरुको संख्या उच्च छ । उनीहरु निगरानी बेगर नै नेपाल प्रवेश गरिरहेका छन् । प्रदेश १ को राजधानी सहर विराटनगरसँग सीमा जोडिएको रानी नाकाबाट आवतजावत ठप्प छ । तर, मोरङको ६३ किलोमिटरमा रहेको २६ वटा सीमा नाकादेखि नेपाल प्रवेश गर्नेको दिनहु लर्को लाग्ने गरेको छ ।

यद्यपि, सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन । जसले गर्दा संक्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरुमार्फत नेपालमा पनि कोरोना संक्रमण फैलने खतरा बढ्दै गएको स्वास्थ्यविद्हरुको चिन्ता छ ।

यसअघि भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको भएपनि अहिले खुल्लेआम आवतजावत हुने गरेको छ । केही नाकामा शंकास्पदको एन्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ ।

सीमा नाका हुँदै नेपाल भित्रिएका केहीमा कोरोना संक्रमण देखिहाले संक्रमित व्यक्तिलाई सुरक्षित रुपमा आइसोलेसनमा पठाउने वा निगरानीमा राख्ने सवालमा भने अझै प्रभावकारी व्यवस्था हुन सकेको छैन ।

प्रशासनले कोभिड जोखिम व्यवस्थापन समितिले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेकमा भारततर्फ नजान आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी होषहरी निरौलाले बताए । ‘सीमा नाकाहरूमा हेल्थ डेक्स राख्न हामीले स्थानिय तहलाई भनिसकेका छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘केही दिन भित्रमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स रहनेछ । त्यसपछि स्वास्थ्य परीक्षण गरेर आवतजावत गरिनेछ ।’

विराटनगर–१६ स्थित भारततर्फ आउजाउ गर्ने विराटनगर जुट मिलको दक्षिण गेटमा काँडा राखेर छेकबार लगाई प्रहरी खटाइएको छ । दरैयातर्फ जाने सडकमा र दरैयास्थित चोर बाटोमा पनि सुरक्षाकर्मीले बाँसको छेकबार लगाएका छन् । तर सीमावर्ती भारतीय बजार जोगबनीमा किनमेल गर्न र भारततर्फ आउजाउ गर्नेहरूले खुला सीमाको फाइदा उठाउँदै जताततै दशगजा क्षेत्रबाट सीमा वारपार गरिरहेका छन् ।

विराटनगर–१५ स्थित इस्लामपुर र मटेरुवालगायत मोरङस्थित प्रत्येक छोटी भन्सार नाकामा पनि सर्वसाधारण खुला सीमाको फाइदा उठाउँदै निर्बाध आउजाउ गर्ने गरेको स्थानीयको भनाइ छ । खुलेआम आवतजावतले संक्रमण जोखिम पनि बढाएको छ । तर खुला सिमाना भएकाले जताततै दशगजाबाट सर्वसाधारणको भारत अवागमन भइरहेको हो । दशगजाबाट भारततर्फ आउने–जानेलाई सीमा खटिएका सुरक्षाकर्मी रोकेका छैनन ।

भारतबाट औपचारिक रूपमा आउने–जानेलाई रानी भन्सार नाकास्थित हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरेर मात्रै नेपालतर्फ आउन दिइएको छ ।
प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । बिहीबार मात्रै यस प्रदेशमा १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये विराटनगर महानगरका मात्रै ११ जना रहेको सामाजिक विकास मन्त्रालयको अभिलेखमा देखिन्छ । सुनसरीको इटहरीमा ३, भोक्रा नरसिंहमा १, झापाको अर्जुनधारा, दमक र बिर्तामोडमा १÷१ र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा बुधबार १६, मंगलबार १०, सोमबार ७ र आइतबार ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले संक्रमण रोकथामका लागि आवश्यक सतर्कता अपनाउने बताइन । उनले विराटनगरसहितका अन्य अस्पतलाहरूमा पनि कोभिड संचालन गर्न निर्देशन दिएको बताइने ।

‘कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरिका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा रहन अनुरोध छ,’ उनले भनिन्, ‘प्रदेशस्थित १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयार गरी संक्रमितको उपचारको व्यवस्थापनका लागि निर्देशन दिएका छौैं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ