२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा टाउको पछाडीको २ केजीको ट्युमरको सफल शल्यक्रिया

कोशी अस्पतालमा टाउको पछाडीको २ केजीको ट्युमरको सफल शल्यक्रिया


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू भएपछि मोरङको रंगेलीका एक जना किशोरको टाउको पछाडी नशामा  रहेको दुई केजीको ट्युमरको सफल शल्यक्रिया भएको छ ।

अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टिमले रंगेली नगरपालिका २ बबियाविर्ताका १८ वर्षिय रघुनाथ मुडियारी (झागड) को टाउँको पछाडी रहेको ट्युमरको सफल शल्यक्रिया गरेका हुन् ।

उपचारको लागि वर्षौदेखि विभिन्न अस्पतालमा भौंतारिएकी उनी एक साता अगाडी कोशी अस्पतालमा आएको डा. खतिवडाले जानकारी दिए । डा. खतिवडाको टिमले दुई घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरिएको बताए । शल्यक्रिया पछि बिरामीको अवस्था अहिले स्थिर रहेको न्यूरो सर्जन डा. खतिवडाले जानकारी दिए ।

‘शल्यक्रियापछि दुईदिन आईसीयूमा राखेर उपचार गरेका थियौं,’ उनले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाले सामान्य वार्डमा सारेका छौं ।’ विरामीको स्वास्थ्य सुधार हुँदै गएकोले मंगलबार डिस्र्चाज गर्ने तयारी गरेको उनले बताए ।

नशाको ट्यमुरलाई मेडिकल भाषामा ‘फाइब्रोम्याटोसीस टाइप वान’ भन्ने गरिन्छ । ३ हजार जनामा एक जनालाई यस्तो रोग देखा पर्ने न्यूरो सर्जन डा. खतिवडाले बताए । ‘कतिपयलाई बंशाणुगत पनि यस्ता रोगहरू देखा पर्ने गरेको छ,’ डा. खतिवडाले भने, ‘यसको बेलैमा उपचार गर्दा ठिक हुन्छ ।’

उपचारपछि अस्पतालको जनेरल वार्डमा रहेका रघुनाथले नयाँ जीवन पाएको अनुभूति भएको बताए । ‘टाउँको पछाडीको भागमा मासु ढल्ला हुँदा सारै कठिनाइ भएको थियो । हिडडुल गर्नेदेखि सुत्न पनि समस्या हुने गरेको थियो,’ उपचारपछि हर्षिद मुद्रामा देखिएका रघुनाथले हेल्थआवजसँग भने, ‘अब राम्रोसँग हिडडुल गर्न सक्छु । टाउँको पछाडीको मासुको ढल्ला शल्यक्रिया गरेर फालेपछि हल्का भएको छ ।’ उनले भने, ‘नयाँ जीवन पाएको छु । उपचारमा संलग्न चिकित्सकलाई धन्यवाद दिन चाहन्छु ।’

रघुनाथको कुरुवा बसेकी उनकी दिदी अन्जनाले भाईले नयाँ जीवन पाएको बताइन् । ‘भाइको उपचारको लागि धेरै अस्पताल चारे । भाइको उपचार हुन सकेको थिएन । कोशी अस्पतालमा आएपछि उपचार सम्भव भएको छ,’ उनले भनिन् ।

कोशीमा छुट्टै न्यूरो शल्यक्रिया विभाग  बनाउने तयारी

कोशी अस्पतालमा दुई महिना अगाडी न्यूरो सर्जरी सेवा सुरू भएको छ । न्यूरो सर्जरी सेवा सुरू भएपछि जटिल प्रकारको शल्यक्रिया गरिएको यो पहिलो रहेको अस्पताल प्रमुख मेडिकल सपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

‘कोशीमा फागुनदेखि न्यूरो सर्जरी सेवा सुरू भएको हो,’ उनले भने, ‘न्यूरो सर्जरी सेवा थप विस्तार गर्ने तयारीमा हामी जुटेका छौं । अहिले उपकरणहरू खरिद गर्न टेण्डर प्रक्रिया अगाडी बढाउने तयारीमा जुटेका छौं ।’

उनका अनुसार कोशी अस्पतालमा छुट्टै न्यूरो शल्यक्रिया विभागमा विस्तार गर्ने योजना रहेको बताए । न्यूरो सर्जरी सेवा सुरु भएपछि ओपीडिमा दैनिक २० देखि ३० जना विरामी आउने गरेका छन् । प्रदेश १ मा सरकारी स्तरमा न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पताल पहिलो हो । यहाँ न्यूरो सर्जर डा. रोशन खतिवडाको टिमले उपचार गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ