२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जे.के. पानी उद्योगको लापरवाही : ‘एच टू’ पानीमा स्वास्थ्यलाई असर गर्ने कोलीफर्म भेटियो

जे.के. पानी उद्योगको लापरवाही : ‘एच टू’ पानीमा स्वास्थ्यलाई असर गर्ने कोलीफर्म भेटियो


विराटनगर—विराटनगर महानगरपालिकामा रहेको एक पानी उद्योगले चरम लापरवाहीका कारण प्रशोधित पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने कोलीफर्म जिवाणु भेटिएको छ । शुद्ध पिउने पानी उत्पादनका लागि भन्दै विराटनगर–७ बुद्धमिलन चौकस्थित ॐ जे.के. पानी उद्योगले उत्पादन गर्ने ‘एच टू’ पानीमा कोलीफर्म भेटिएको हो ।

खाद्या प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा प्रशोधित पानीको सेम्पल ल्याएर गरेको ल्याब परीक्षणपछिको रिपोर्टमा जे.के. पानी उद्योगले उत्पादन गरिने पानीमा स्वास्थ्यलाई असर गर्ने कोलीफर्म भेटिएको खाद्यको प्रमुख प्रमोद कोइरालाले जानकारी दिए । सो उद्योगले बोरिङ मेसिन नै शौचालयको सेफ्टी ट्यांकी (हज)सँग जोडेर राख्ने गरेको खाद्यले गत मंगलबार गरेको अनुगमनको क्रममा फेला परेको थियो ।

बोरिङ मेसिननै शौचालयको सेफ्टी ट्यांकी नजिक रहेकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कोलीफर्म हुनसक्ने आशंका गर्दै तत्काल विक्री वितरण र उत्पादनमा रोक लगाएको थियो । कार्यालयले अनुगमनपछि नमुना संकलनको लागि पनि २ थान जार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा ल्याएको थियो । अनुगमनपछि आइतबार आएको ल्याब परिक्षण रिपोर्टमा कोलीफर्म भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर प्रमुख कोइरालाले बताए ।

प्रशोधित पानीमा कोलीफर्म देखिएपछि जेके पानी उद्योगलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने उनले जानकारी दिए । ‘यसअघिको अनुगमनमा बोरिङ मेसिन नै शौचालयको सेफ्टी ट्यांकी (हज)सँग जोडेर राखेको फेला परेका दिनदेखि उत्पादन र विक्री वितरणमा रोक लगाएका थियौ,’ उनले भने, ‘अब कोलीफर्म देखिएपछि खाद्य ऐन अन्तर्गत कारवाहीको प्रक्रिया अगाडी बढाउनेछौं ।’

प्रशोधित पानीमा ‘कोलीफर्म’ भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन—२०२३ खाद्य नियमावली बमोजिम उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्दै आएको छ । उद्योगको संचालकहरूको कार्यालयले बयान लिने काम सकेपछि प्रक्रियागत रुपमा प्रशासनमा मुद्धा चलाउने बताइएको छ । सो मुद्धामा दोषी ठहर भए ५ देखि १० हजार रुपैयाँ जरिवना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

जेके पानी उद्योगका जितेन्द्र कुमार यादव, ओम प्रकाश राउत र कौशलन्द्र कुमार कर्ण संचालक हुन् । खाद्य निरीक्षक शंङ्कर न्यौपानेको नेतृत्वमा भएको अनुगमनको क्रममा उद्योगमा यूपी ल्याप फिलरको ठिक अगाडी नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड—२०७४ मा रहेको प्रावधानअनुसार उद्योग प्रवेश गर्नुभन्दा अगाडि हात धुने बेसन नभएको, जार धुने ठाउँ खुल्ला ठाउँमा रहेको फेला परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तत्काल सुधार गर्न पनि निर्देशन दिएको छ । उक्त पानी उद्योगले प्यानमा दर्ता भएको र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको अनुज्ञा पत्र पनि उपभोक्ताले देखिने गरी राखिएको थिएन् । उक्त उद्योगबाट ३ हजार लिटर प्रशोधित पानी उत्पादन भई बजारमा खपत हुने गरेको छ ।

कोलीफर्म भएको पानी पिउँदा स्वास्थ्यमा गम्भीर असर गर्ने विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले बताए । कोलीफर्म भएको पानी पिउनाले झाडा पखाला लाग्ने, हेपटाइटीस, जण्डिस हुने, मिर्गौंला र कलेजोमा समेत असर गर्ने उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ