२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘होल्डिङ सेन्टर’ बनाउन प्रदेश १ सरकार उदासीन

‘होल्डिङ सेन्टर’ बनाउन प्रदेश १ सरकार उदासीन

भारतदेखि आएका सिधै घर, संक्रमण बढने खतरा


विराटनगर-प्रदेश १ सरकारले ‘होल्डिङ सेन्टर’ बनाउन ढिलाई गरेको छ । संक्रमण तीव्र रूपमा फैलिएको भारतदेखि आएका नेपाली नागरिकहरू राख्नको लागि बनाइने ‘होल्डिङ सेन्टर’ अहिलेसम्म नबन्दा भारतदेखि आएकाहरू सोझै आ–आफ्नो घर जाने गरेका छन् । भारतबाट आएकाहरू सोझै घर जाँदा थप संक्रमण बढेर जाने खतरा बढेर गएको छ ।

प्रदेश १ भित्रको पाँच वटा सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मेवारी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पाएको छ । जिम्मेवारी पाएको मन्त्रालय उदासीन बन्दा थप संक्रमण बढेर जाने खतरा बढेको छ ।

प्रदेशस्तरीय संकट व्यवस्थापन समितिको बैठकले सुनसरीको भोक्राहा, मोरङको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपतिनगर र ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको छ । तर, सीमा नाकाहरूमा होल्डिङ सेन्टर अहिलेसम्म नहुदाँ तीव्र रूपमा संक्रमण फैलिरहेको भारतबाट आएकाहरु सोझै घर जाने गरेकाले संक्रमणको थप जोखिम बढेर जाने स्वास्थ्यकर्मीहरूले बताए ।

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बाले महामारी तीव्र रुपमा फैलिएको बेला संक्रमण बढेको विदेशदेखि आएका होल्डिङ सेन्टरमा नबसी घर जाँदा थप संक्रमण बढेर जाने बताए । ‘संक्रमण तीव्र रूपमा फैलिएका देशदेखि आएकाहरूलाई स्वास्थ्य परीक्षण गरेर दुई साता होल्डिङ सेन्टरमा बस्नुपर्ने हो । कोरोना संक्रमण बढिरहेको छ, त्यसको रोकथाम र नियन्त्रणको प्रयासमा सरकारले गरेको तयारी निकै सुस्त देखिन्छ,’ उनले भने, ‘पूर्वतयारीमा सरकारले ढिलाइ गर्दा भोलिको दिनमा संक्रमणको अवस्था भयावह हुने खतरा बढाएको छ ।’

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेका भारतका विभिन्न राज्यबाट आएकाहरु सार्वजनिक यातायातको साधनमा आ–आफ्ना गन्तव्यसम्म जाँदा संक्रमणको जोखिम थप बढेर जाने उनले बताए । ‘भारतबाट आएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर सुरक्षित साथ गन्तव्यसम्म पु¥याउने व्यवस्था नभए अवस्था भयावह हुनेमा कुनै शंका छैन,’ उनले भने ।

विराटनगरस्थित रानी नाकाबाट अहिले दैनिक १ सयदेखि दुई सय जना भारतका विभिन्न राज्यबाट नेपाल आइरहेका छन् । जसमध्ये एन्टीजेन परीक्षण गर्दा दैनिक ५ देखि ८ जनासम्म कोरोना पोजिटिभ आउने गरेको छ । संक्रमण देखिएकोहरू कहाँ लैजाने र त्यसको व्यवस्थापन नहुँदा समस्या आएको छ । गत बिहीबार भारतदेखि आएका पाँच जना मध्ये एकै परिवारको तीन जनामा एन्टीजेन परीक्षा गर्दा संक्रमण देखिएको थियो ।

होल्डिङ सेन्टर नहुँदा उनीहरू रातभरी विराटनगरको रानीस्थित रूखको छहारीमुनी रात काटेर घर गएका थिए । होल्डिङ सेन्टर सन्चालनमा नआउँदा एन्टीजेन परीक्षणमा पोजेटिभ आएका पनि दिनभरि संक्रमित चर्को घाममा खुल्ला आकाशमुनी बस्न बाध्य हुने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । रानी नाकाका हेल्थ डेस्क प्रमुख डा. कमलकिशोर यादवले बिहीबारदेखि एन्टीजेन परीक्षणमा पोजेटिभ आएका बाहिर जिल्लाका व्यक्तिहरुलाई नोवेल अस्पतालको आइसोलेसन वार्डमा पठाउन थालिएको बताए । भारतबाट आएकाहरुमध्ये एन्टीजेन परीक्षणमा निगेटीभ आएकाहरु सार्वजनिक यातायातको साधनमा आ–आफ्ना गन्तव्यसम्म जाने गरेको उनले सुनाए ।

विराटनगरमा होल्डिङ सेन्टरका लागि ठाउँ छनोट गर्न नसकेकाले समस्या भएको छ । यसअघि डिएभी स्कूलमा होल्डिङ सेन्टर राखेको तर स्कूललाई बुझाउनु पर्ने रकम प्रदेश सरकारले नदिएकाले अहिले राख्न नदिएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले होल्डिङ सेन्टर २÷४ दिनभित्रै सन्चालनमा ल्याउने दाबी गरेका छन् । ‘होल्डिङ सेन्टरको लागि स्थान छनोट भइरहेको छ,’ उनले भने, ‘केही दिन भित्रमा संचालनमा आउनेछ ।’ उनले अचानक दोस्रो चरणको कोरोना संक्रमण फैलिएकाले व्यवस्थापनमा कठिनाइ भएको बताए । ‘यस प्रदेशका १४ वटै जिल्ला अस्पतालमा २० शैय्याको कोरोना उपचारका लागि व्यवस्थापन गर्न आवश्यक बजेट पठाउने कार्य भइरहेको छ,’ उनले भने, ‘झापाको मेची अस्पताल, कोशी अस्पतालको कोभिड उपचार केन्द्र, निजी अस्पतालहरुमा कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गरिसकेका छौं ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ