२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी

विराटनगरका कोभिड अस्पतालमा संक्रमितले शैय्या भरिए, आईसीयुका लागि पालो कुर्दै बिरामी


विराटनगर-कोभिड-१९ को दोस्रो लहर तीब्र रुपमा फैलिएसँगै विराटनगरमा संचालित तीन वटा कोभिड अस्पतालहरूका शैय्या संक्रमितले भरिएका छन् । कोशी अस्पतालको कोभिड उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पतालको शैय्या कोरोना संक्रमितका बिरामीले भरिएको हो ।

अस्पतालमा रहेका आईसीयुसहितको भेन्टिलेटर पनि भरिएपछि संक्रमितहरूले पालो कुर्नुपर्ने अवस्थामा आएको छ । विराटनगर नजिकै बुढीगंगा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले १२० शैय्याको कोभिड अस्पताल वैशाख दोस्रो साताबाट सञ्चालनमा ल्याएको छ । बिरामीको चापले गर्दा हरेक दिन सबै शैय्या भरिभराउ छन् ।

अस्पतालका सम्पर्क अधिकृत सुनिल देवकाअनुसार आईसीयु र भेन्टिलेटर खाली हुनै नपाउने गरेको बताए । ‘बिरामीको चाप यति धेरै छ कि हामी गम्भीर अवस्थामा पुगेका बिरामीहरुलाई मात्र सेवा दिन बाध्य छौं,’ उनले भने,’ ‘आईसीयु बिरामी ठिक हुँदा वा मृत्यु भएपछि मात्र खाली हुने अवस्था छ ।’ उनले अस्पतालका सबै १२० शैय्यामा बिरामीहरु भरिएको जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड उपचार केन्द्रमा अक्सिजन र भेन्टिलेटरसहितको ९६ शैय्या रहेको छ । जसमध्ये अक्सिजनसहितको ८३ वटा बेड रहेकामा आइतबारसम्ममा सबै शैय्यामा संक्रमित रहेको अस्पतालका इन्चार्ज बैजनाथ साहले जानकारी दिए । २१ शैय्याको आईसीयुमा पनि संक्रमित छन् । कोशी कोभिड उपचार केन्द्रले गम्भीर अवस्थाका बिरामी मात्र भर्ना लिइरहेको छ ।

‘अहिले हामीसँग अक्सिजनसहितको भेट र भेन्टिलेटर खाली छैन । किनभने आइसीयुमा रहेका बिरामीहरुलाई कुनैपनि बेला भेन्टिलेटर आवश्यक पर्नसक्छ, त्यसैले अहिले भेन्टिलेटर प्रयोग नभएपनि त्यहाँ अरु बिरामी भर्ना लिएर भेन्टिलेटर सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन्,’ साहले भने ।

नोबेल शिक्षण अस्पतालले वैशाख दोस्रो सातामा ६० वटा शैय्याबाट कोभिडको उपचार सुरु गरेको थियो । केही दिनमै बिरामीको चाप बढ्न थाल्यो । त्यसलाई बढाएर १०० शैय्या पु¥यायो । त्यतिले पनि अस्पताल खोज्दै आउने संक्रमितहरुलाई उपचार दिन नसक्ने अवस्था आयो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना नै अस्पतालले केही शैय्या थप्यो । मन्त्रालयले १०० शैय्याको कोभिड अस्पताल सञ्चालन अनुमति दिएको भएपनि अस्पतालले जनशक्ति र बिरामीको चापलाई ध्यानमा राखेर बुधबारदेखि कोभिड उपचार केन्द्रको क्षमता विस्तार गरेर १९२ शैय्या पु¥याएको छ । शुक्रबार दिउँसोसम्म अस्पतालमा १६२ जना संक्रमित उपचाररत रहेकोमा शनिबार बिहानसम्म अस्पतालका सबै १९२ वटा शैय्या भरिएका छन् ।

‘अहिले पनि अस्पतालमा आईसीयु र भेन्टिलेटर खोजी गर्दै टेलिफोन गर्नेहरु धेरै छन्,’ अस्पतालका प्रबन्धक नारायण दाहालले भने, ‘हामी आईसीयु त होइन्, जनरल बेड पनि दिन नसक्ने अवस्थामा छौं ।’ अक्सिजन मात्र लगाएर भएपनि बिरामी राखिदिनु भन्ने अनुरोध गर्नेहरुलाई पनि सेवा दिन कठिन भएको उनले बताए ।

नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि ३९ बेडको आईसीयु छ । आईसीयुका सबै बेडमा बिरामी छन् । त्यसमध्ये १० वटा भेन्टिलेटर प्रयोग भइरहेका छन् । आइतबार सबै भेन्टिलेटरमा बिरामी रहेको प्रबन्धक दाहालले बताए । उनी भन्छन्, ‘हामीसँग भेन्टिलेटर र आईसीयु सबैमा बिरामी छन् । बिरामीको चाप बढेपछि स्वास्थ्य मन्त्रालयसँग ३०० शैय्याको कोभिड अस्पताल सञ्चालन गर्न प्रस्ताव गरेका छौं । तर, स्वीकृती आइसकेको छैन ।’

मन्त्रालयले स्वीकृती दिएको खण्डमा केही दिनभित्रै ३०० बेडको कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने र आईसीयु बेडको संख्या पनि बढाउन तयारी अवस्थामा रहेको प्रबन्धक दाहालले जानकारी दिए । नोबेलमा सिरहा, सप्तरीलगाायतका जिल्लाबाट पनि कोभिड उपचारका लागि बिरामीहरु आएका छन् । प्रबन्धक दाहालका अनुसार काठमाडौंमा आईसीयु र भेन्टिलेटर अभाव भएपछि हेलिकप्टर चार्टर गरेर बिहीबार दुई जना बिरामी उपचारका लागि नोबेल आएका छन् ।

विराटनगर महानगरपालिकाभित्र मात्र दैनिक २५० भन्दा बढी नयाँ संक्रमित पहिचान भइरहेको छ । प्रदेश १ मा दैनिक पहिचान भएका संक्रमित संख्याको झण्डै आधा संख्या मोरङमा भेटिने गरेको छ । जसले गर्दा अस्पतालहरुमा चाप बढेको हो ।

यसबाहेक सिरहा, सप्तरी, उदयपुरलगायत संक्रमित संख्या बढी भएका जिल्लाहरुबाट पनि उपचारका लागि विराटनगरमै आउनुपर्ने अवस्थाले गर्दा यहाँका अस्पतालहरुलाई उपचार सेवा दिन कठिन परेको छ । त्यसमाथि काठमाडौंबाट समेत बिरामी आउन थालेपछि अस्पतालहरु थप चापमा परेका छन् ।

विराटनगरका तीन वटा अस्पतालमा १०० बेड आईसीयु, ४० वटा भेन्टिलेटरसहित ३ सय ८४ बेडमा कोभिड–१९ का गम्भीर बिरामीको उपचार भइरहेको छ । कोशी कोभिड उपचार केन्द्र अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको खण्डमा एक सय बेड थपिनेछ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ