२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नक्कली र गुणस्तरहिन सेनिटाइजर छ्यापछ्याप्ती

नक्कली र गुणस्तरहिन सेनिटाइजर छ्यापछ्याप्ती


विराटनगर – महामारीको रूपमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलने क्रम बढीरहेका बेला प्रदेश १ को राजधानी विराटनगरमा नक्कली र मापदण्ड विपरितका सेनिटाइजर भेट्न थालिएको छ । मानव स्वास्थ्य र छालामा असर गर्ने नक्कली र मापदण्ड विपरितका  सेनिटाइजर बजारमा भेटिन थालेको हो ।

पछिल्लो समय आफूखुसी उद्योग खोलेर सेनिटाइजर उत्पादन गर्दै बजारमा ल्याउने क्रम बढेपछि औषधी व्यवस्था विभागले अनुगमन र कारबाहीलाई तीव्र बनाएको छ । कोरोना भाइरस नष्ट गर्ने भन्दै मापदण्ड पूरा नगरिकन जथाभावी उत्पादन भइरहेका सेनिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने भन्दै विभागले प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ ।

विराटनगर महानगरपालिको नेतृत्वमा सोमबार विराटनगरका औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा नक्कली र मापदण्ड विपरीतका सेनिटाइजहरु भेटिएको हो । निशिका अग्रवालले विराटनगरमा संचालन गरेको श्री सर्जिकलमा मापदण्ड विपरितका  सेनिटाइजर जफत गरिएको छ । ‘प्रुलिम’ ब्राण्डको सेनिटाइजरमा अल्कोहलको मात्रा बढी देखिएकोले विभागले नमुना परीक्षणको लागि प्रयोगशालामा पठाएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख सन्जिब शर्मा कट्टेलले जानकारी दिए । साही फार्मेसीमा अनुगमनको क्रममा लेबल नभएको माक्स विक्री वितरण गरेको पाइएपछि ३ हजार पिस माक्स बरामद गरिएको छ ।

यस्तै, विराटनगरको अटल फार्मेसीमा पनि अनुगमन गरियो । उक्त फार्मेसीमा आयूर्वेदिक औषधीको इजाजल नलिकन औषधी विक्री वितरण गरिएको भेटिएको थियो । यहाँका थोक र खुद्रा मेडिकल अनुगमन गरिएको थियो ।

कोभिडमा महामारीमा स्वास्थ्य समाग्रीको कालोबजारी र गुणस्तहिन सामाग्री विक्रीवितरण रोक्न अनुगमनलाई तिव्रता दिइने विभागका प्रमुख कट्टेलले बताए । कतिपयमा फार्मेसीमा जनशक्ति पनि प्रयाप्त नदेखिएको राख्न निर्देशन दिएको उनको भनाई छ ।

अनुगमनमा विराटनगर  महानगरापलिकाकी उप्रमुख इन्दिरा कार्की, स्वास्थ्य महाशाखाका स्वास्थ्यकर्मी, विभागका प्रमखु कट्टेललगायतको सहभागिता थियो । संक्रमण तीव्र रुपमा फैलिएको कारण स्वास्थ्य सामाग्रीको प्रयोग बढन थालेपछि कालोबजारी हुन निदन औषधी व्यवस्था विभागले केही दिनयता पनि अनुगमनलाई तिव्रता दिएको छ ।

केहीदिन अघि झापाको दमक–४ मा विना अनुमति निश्चल केमिकल वर्क नाम दिएर उत्पादन गरेको नक्कली सेनिटाइजर भेटिएको थियो । लक्ष्मीप्रसाद राईले सञ्चालन गरेको निश्चल फार्मेसीबाट बरामद भए पनि उत्पादन गर्ने कम्पनी कहाँ छ र कसरी सञ्चालन भइरहेको छ भन्ने पत्ता लागि नसकेकाले खोजी थालिएको छ ।

आफूखुसी उत्पादन गरिएको सेनिटाइजरमा हानिकारक मिथायल अल्कोहल ६५ प्रतिशत प्रयोग गरेको पाइएको कट्टेलले बताए । मानव स्वास्थ्यका साथै छालामा निक्कै लामो समयसम्म असर गर्ने भएकाले मिथायल अल्कोहल मिसाएर बनाएको सेनिटाइजर प्रयोग गर्न निमल्ने उनले बताए ।

‘सेनिटाइजर बनाउँदा ७० देखि ८० प्रतिशतसम्म इथानोल वा आइसोप्रोपायल अल्कोहलको मिश्रण हुनुपर्छ,’ उनले भने, ‘अरु चिजवस्तु मिसाएर बनाइएमा प्रयोग गर्नु निक्कै खतरापूर्ण हुन्छ ।’ उत्पादकलाई सबै आधिकारिक कागजपत्र लिएर विभागमा उपस्थितिका लागि सूचना जारी गरिएको उनको भनाइ छ ।

उनका अनुसार फर्मेसी सञ्चालक राईले भने आफूलाई सेनिटाइजर उत्पादक थाहाँ नभएको र बिक्री गरिदिनु भनेर ल्याएपछि आफूले राखिदिएको मात्रै बताएका छन् । विभागका प्रमुख कट्टेलले नक्कली र हानिकारक सेनिटाइजर कतिले खरिद गरेर लगे तथा प्रयोग गरे भन्ने यकीन तथ्यांक नभएकाले यस विषयमा पनि खोजी थालिएको जानकारी दिए ।

यसअघि औषधी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले विराटनगरको मञ्जरी आयुर्वेदिक औषधि उद्योगलाई सेनिटाइजर उत्पादनमा रोक लगाएको थियो । दर्ता नगरी र विभागलाई  थाहै नदिइकन आफूखुसी सेनिटाइजर उत्पादन गरिरहेको पाइएपछि रोक लगाउँदै गुणस्तरहीन एवम प्रयोग गर्न अयोग्य सामाग्री बनाए वापत उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको कट्टेलले बताए ।

त्यस्तै, सुनसरीको इहटरी–४ मा शौर्य केमिकल प्रालीले पनि शौर्य ह्यान्ड नामक गुणस्तरहीन सेनिटाइजर उत्पादन गरिरहेको यसअघि पत्ता लागेको थियो । घरमाथि गिल्स्रिन बट्टामा घरेलु मदिरा प्रयोग गर्दै अवैध ढंगले सेनिटाइजर बनाएर बजारमा विक्रीका लागि लैजाने गरेको पाइएपछि प्रालिका सञ्चालक अतित गुरागाईँ र अमरजीत गोश्वामीलाई प्रहरीले पक्राउ गरेको थियो ।

२५ दिन हिरासतमा राख्दै प्रहरीले कालाबजारी ऐन अन्तर्गत चलाएको मुद्दामा उनीहरु अदालतले मागेको दुई-दुई लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटिसकेका छन् । विभाग प्रमुख कट्टेलले नक्कली सेनिटाइजर उत्पादन गर्दै आएका विभिन्न आधा दर्जन अवैध प्रालि र कम्पनीलाई कारवाही गर्दै उत्पादनमा रोक लगाएर बन्द गरि सकिएको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ