२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको राजघाटमा ११ शैय्याको कोभिड अस्पताल संचालनमा

मोरङको राजघाटमा ११ शैय्याको कोभिड अस्पताल संचालनमा


विराटनगर–कोभिड १९ को दोस्रो लहरको तीब्ररूपमा फैलिएर अस्पतालमा शैय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि मोरङको उर्लाबारी नगरपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

नगरपालिकाले उर्लाबारी–८ राजघाटमा रहेको स्वास्थ्य चौकीमा ११ शैय्याको अक्सिजनसहितको कोभिड अस्पताल निर्माण गरेर शनिबारदेखि संचालनमा ल्याएको हो ।

दोस्रो चरणको कोरोना संक्रमणबाट अक्सिजन अभावमा संक्रमितहरुले अकालमै मृत्युवरण गरिरहेका बेला उपचार नपाएर कसैको ज्यान जान नदिन अक्सिजनसहितको कोभिड अस्पताल संचालनमा ल्याएको उर्लाबारीका प्रमुख खड्क फागोले बताए ।

‘उर्लाबारीमा पनि संक्रमण बढदै गएको छ । उपचार नपाएर मृत्यु भएका घटना पनि सुन्दै आएको छौं । त्यही भएर हामीले अहिले तत्काल अक्सिजनसहितको ११ शैय्याको अस्पताल संचालनमा ल्याएको हो,’ उनले भने, ‘आवश्यकताअनुसार थप गर्दै लैजाने योजना बनाएका छौं ।’ कोभिड अस्पतालको सबै बेडमा अक्सिजन जडान गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगलबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनका ल्याउने तयारी गरेको थियो । तर, अस्पताल प्रशासनले असहयोग गरेपछि नगरपालिकाले आफ्नै माहतमा रहेको स्वास्थ्य चौकीमा संक्रमितलाई राखेर उपचार गर्ने कोभिड अस्पताल तयार गरेको हो । राजघाटनमा संचालनमा आएको अस्पतालमा प्रत्यक्ष रूपमा स्वास्थ्यकर्मीहरूको उपस्थितमा संक्रमितको उपचार हुने बताइएको छ ।

उर्लाबारीमा हालसम्म दोस्रो लहरका कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ भने ८५ जनाभन्दा बढी सक्रिय संक्रमितको संख्या छ । स्थानीयस्तरमा अक्सिजनसहितको अस्पताल संचालनमा आएपछि अक्सिजन मात्र आवश्यक पर्ने बिरामी प्रदेश १ को राजधानी विराटनगरसम्म जानुपर्ने बाध्यता पनि अन्त्य भएको स्थानीयको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)