२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगर महानगरले थप्यो अक्सिजनसहितको आइसोलेसन

विराटनगर महानगरले थप्यो अक्सिजनसहितको आइसोलेसन


विराटनगर – दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिदै गएपछि विराटनगर महानगरपालिकाले संक्रमितहरू सुरक्षित रूपमा बस्नको लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर थप गरेको छ । महानगरपालिकाले विराटनगर – १ स्थित भट्टाचोकमा अक्सिजनसहितको नयाँ आइसोलेसन सेन्टर थप गरेको हो ।

५१ शैय्याको संचालनमा ल्याउने आइसोलेसनको सम्पूर्ण तयारी पूरा भएकोले सोमबारदेखि संक्रमित राख्ने तयारी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । ‘आइसोलेसनको सम्पूर्ण तयारी पूरा भएको छ । अहिले अक्सिजनको सहितको २८ वेड तयार रहेको छ । सोमबारदेखि संक्रमित राख्न तयारी गरिएको छ,’ उनले भने । महानगरपालिकाले भट्टोचोकको आरआरएनको भवनमा बनाएको आइसोलनमा ५१ शैय्याको बनाउने भएको छ । ‘आवश्यक बेड तयार छ,’ उनले भने ।

अस्पतालहरुमा बेड अभाव भइरहेको र संक्रमितहरुलाई आवश्यक पर्ने अक्सिजनसमेत समयमा नपाउने अवस्था देखिएकोले सुरक्षितरुपमा घरमा बस्न सहज नभएका बिरामीलाई राख्न आइसोलेसन तयार गरेको हो । आरआरएनको सभाहल रहेको भवनमा आइसोलेसन स्थापना गरिएको र त्यहाँ संक्रमितहरुलाई तत्काल आवश्यक पर्दा अक्सिजनको प्रवन्ध मिलाइएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । मानिसको जीवन रक्षा गर्ने उद्देश्यले हरसम्भव प्रयासमा महानगरजुटिरहेको पराजुलीले बताए ।

आइसोलेसनमा रहने बिरामीका लागि चिकित्सकीय सेवा र मनोपरामर्शसमेत उपलब्ध हुने छ । आइसोलेशनमा एमडी डा. कमल किशोर यादव नेतृत्वको स्वास्थ्य टिम परिचालन हुनेछ । यहाँ रहने संक्रमितहरूको उपचार यादवको नेतृत्वमा दुई जना मेडिकल अधिकृत र नर्सहरू रहने स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । ‘आइसोलेसनमा बसेका संक्रमितहरूको प्रत्यक्ष रूपमा स्वास्थ्यकर्मीहरूले निगरानी गर्नेछन्,’ कार्कीले भने, ‘यहाँ रहेका संक्रमितहरूको उपचार पनि गर्नेछन् ।’ आइसोलनमा रहेका संक्रमितको स्वास्थ्य थप गाह्रो हुँदै गए कोभिड अस्पतालमा रेफर गरेर उपचार गर्ने तयारी गरेको छ ।

महानगरले कोभिड उपचारमा यस अघि सहयोग लिँदै आएका चिकित्सकहरु मार्फत बिरामीहरुको रेखदेख र उपचारमा सहयोग गर्ने महानगरले जनाएको छ । महानगरपालिकाले संकटको बेला आरआरएनका निर्देशक अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सहयोग गरेको भन्दै आभार समेत व्यक्त गरेको छ ।

आइसोलेसन निर्माणले पूर्णता पाएसँगै शनिबार मेयर पराजुली सहित ,मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला,विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत,वडा नं. १ का वडाध्यक्ष उद्दव अर्याल ,स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, सामुदायिक शाखा प्रमुख पुनम दाहाल लगायतले अनुगमन गरेका थिए ।

यसअघि विराटनगर महानगरपालिकाले १९ नं. वडामा रहेको बैजनाथपुर स्वास्थ्य चौकीको भवनमा २० शैय्याको आइसोलेशन बनाएर संचालनमा ल्याएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ