२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा ६१ शैय्याको कोभिड अस्पताल तयार, बुधबारदेखि संचालनमा आउँदै

कोशीमा ६१ शैय्याको कोभिड अस्पताल तयार, बुधबारदेखि संचालनमा आउँदै


विराटनगर–विराटनगरस्थित कोशी अस्पताल परिसरभित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६१ शैय्याको कोभिड–१९ अस्पताल संचालनको अन्तिम चरणमा पुगेको छ । भोलि मंगलबारसम्म कोभिड अस्पताल तयार भएर बुधबारदेखि संक्रमित राखेर उपचार थाल्ने कोशी अस्पतालका सुपरिडेन्टडेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए ।

कडा लक्षण भएका कोभिड–१९ संक्रमित बढेर अस्पतालको शैय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि कोशी अस्पतालले कोभिड अस्पताल संचालनमा ल्याउन लागेको हो । ५ शैय्याको भेन्टिलेटरसहितको आईसीयु, २४ बेडको एचडीयु, ३२ अक्सिजनसहितको बेड संचालनमा ल्याउने मेसु दासले जानकारी दिए ।

अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाई कोभिड अस्पतालको रूपमा संचालन गर्ने तयारी गरिएको छ । ‘अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ मेसु दासले भने, ‘मंगलबारसम्ममा सम्पूर्ण तयारी पुरा गरेर बुधबारदेखि संक्रमित राखेर उपचार गर्ने हाम्रो तयारी छ ।’

उनका अनुसार मेडिकल कक्ष भित्रको चार वटा कोठा रहेका छन् । यी सबै कोठामा अक्सिजनसहितको बेड राखेर कोभिड–१९ संक्रमितको उपचार थाल्ने उनले बताए । ‘अहिले सीसी टिभी, वाइरिङ, शैय्यामा पु¥याउन अक्सिजनको पाइप जडानको काम सकिएको छ,’ उनले भने, ‘वेडको पनि व्यवस्थापनको काम भइरहेको छ । शौचालयको मर्मतको काम बाँकी छ । सम्भवतः मंगलबारसम्म सकिनेछ ।’

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछन् । ‘जनशक्ति अपुग भए थप गरिनेछ,’ मेसु दासले भने । कडा लक्षणसहितका गम्भीर प्रकृतिका कोभिड–१९ संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिन थालेको छ । आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

त्यही भएर संघीय सरकार मातहतमा रहेको कोशी अस्पतालभित्र छुट्टै कोभिड अस्पताल संचालनको तयारी सुरू गरिएको हो । अहिले प्रदेश १ मा दैनिक थपिएका संक्रमितमध्ये आधाभन्दा बढी मोरङका रहेका छन् । त्यसमध्ये पनि प्रदेश १ को राजधानी विराटनगरमा धेरै संक्रमित भेटिन थालेका छन् ।

३ सय सिलिण्डर आवश्यक पर्नेमा कोशीमा ८० सिलिण्डर

कोशी अस्पताल परिसरभित्र कोभिड अस्पताल संचालनमा आएपछि ३ सयभन्दा बढी अक्सिजनको सिलिण्डर आवश्यक पर्नेछन् । तर, अहिले यहाँ ७० देखि ८० वटा मात्र अक्सिजन सिलिण्डर रहेको मेसु दासले जानकारी दिए ।

‘कोभिड अस्पताल संचालनमा आएपछि अक्सिजन सिलिण्डर थप गरिनुपर्दछ । अहिले यहाँ भएका ८० सिलिण्डरले पुग्दैन,’ अस्पतालका मेसु डा. दासले भने, ‘कम्तिमा पनि ३ सय थान अक्सिजन सिण्डेर आवश्यक पर्दछ । अहिले कडा लक्षण सहितका संक्रमित बढेकोले गर्दा प्रायः अक्सिजन आवश्यक पर्ने संक्रमित आउने गर्दछन् । त्यही भएकोले हामीले अक्सिजन सिलिण्डर पर्याप्त माग गरेका छौं ।’

कोभिड अस्पताल संचालनमा आउँदासम्ममा माग गरेजति सिलिण्डर आउने स्थानीय प्रशानले जानकारी आएकोे उनले बताए । ‘केही सिण्लिडर रेडक्रस र उद्योगहरूदेखि संकलन गरेर ल्याउने स्थानीय प्रशासनले जानकारी दिएको छ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ