२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भएको छ : मन्त्री राई

प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भएको छ : मन्त्री राई


विराटनगर-प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिसँग भएको छलफलको क्रममा मन्त्री राईले प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने पहल भएको जानकारी गराएकी हुन् ।

कोभिड–१९ संक्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनले बताइन् । छलफलका क्रममा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकहरुका लागि खोपको व्यवस्था गर्न माग गरे । उनले वैकल्पिक विधिबाट शिक्षालाई अगाडी बढाइने बताए । ‘सधैं विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन,’ उनले भने ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकोमा जोड दिए । उनले खोपलाई प्राथमिकता दिन पनि आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवस्यकता औल्याए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ