२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा भेन्टिलेटरसहितको ६२ शैय्याको कोभिड अस्पताल सुरू

कोशीमा भेन्टिलेटरसहितको ६२ शैय्याको कोभिड अस्पताल सुरू

पहिलो दिन ६ संक्रमित भर्ना


विराटनगर-विराटनगरस्थित कोशी अस्पताल परिसरभित्र छुट्टै भवनमा भेन्टिलेटरसहितको ६२ शैय्याको कोभिड अस्पताल सुरू भएको छ । कडा लक्षण भएका कोभिड–१९ संक्रमित बढेर अस्पतालको शैय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि कोशीले कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

संचालनमा आएको कोभिड अस्पतालमा ५ शैय्याको भेन्टिलेटरसहितको आईसीयू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जनरल बेड रहेको अस्पतालका सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । पोस्मेटल वार्डमा अक्सिजनसहितको जनरल वार्ड छ भने दोस्रो तला मेडिकल वार्डमा एचडीयू र अक्सिजनसहितको भेन्टिलेटर रहेको मेसु दासले बताए ।

कोभिड अस्पताल बिहीबारदेखि संचालनमा आएको पहिलो दिन ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ३ जना संक्रमितको आईसीयुमा र अन्य ३ जना एचडीयूमा राखेर उपचार सुरू गरिएको मेसु दासले जानकारी दिए ।

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्दै आएका छन् । ‘अहिले कोशीमा भएका स्वास्थ्यकर्मीहरुले उपचार गर्नेछन्,’ उनले भने, ‘जनशक्ति अपुग भए थप गरेर संक्रमितको उपचार गरिनेछ ।’

कडा लक्षणसहितको गम्भीर प्रकृतिका कोभिड–१९ संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिन थालेको छ । आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामीले बेड पाउन छाडेपछि पालो कुर्नुपर्ने अवस्था रहेको छ । त्यही भएर संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल भित्र छुट्टै कोभिड अस्पताल संचालन गरेको हो ।

अहिले प्रदेश १ मा दैनिक थपिएको संक्रमितमध्ये आधाभन्दा बढी मोरङको रहेका छन् । त्यसमध्ये पनि प्रदेश १ को राजधानी विराटनगरमा धेरै संक्रमित भेटिन थालेका छन् ।

अक्सिजन सिलिण्डर जुटाइदैं, महानगरले ५० सिलिण्डर दिने

कोशीको कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर अभाव हुने देखिएपछि सहयोग आउन सुरू भएको छ । अस्पताललाई विराटनगर महानगरपालिको शुक्रबार अक्सिजन सिलिण्डर दिने मेसु दासले जानकारी दिए । ‘अहिले कोशीमा ८५ अक्सिजन सिलिण्डर छ । कोभिड अस्पताल संचालनमा आएपछि कम्तिमा पनि ३ सय अक्सिजन सिलिण्डर आवश्यक पर्दछ,’ उनले भने, ‘अक्सिजन सिलिण्डर अभाव हुने देखिएकोले विराटनगर महानगरपालिकाले आज ५० वटा सिलिण्डर दिने भएको छ ।’

कोभिड अस्पताल संचालनमा आएपछि अन्य संघसंस्थाहरुले अक्सिजन सिलिण्डर सहयोग गर्ने जानकारी गराएका छन् । ‘केही सिण्लिडर रेडक्रस र उद्योगहरूदेखि संकलन गरेर ल्याउने स्थानीय प्रशासनले जानकारी दिएको छ,’ उनले भने, ‘कोभिड अस्पताल संचालनमा आइसक्दा पर्याप्त मात्रमा अक्सिजन सिलिण्डर जुटाउने जानकारी आएको छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ