२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी र स्वास्थ्य सामाग्रीमा कालोबजारी, ६ हजार ८ सय पर्ने माक्स ८ हजार ५ सयमा बिक्री

औषधी र स्वास्थ्य सामाग्रीमा कालोबजारी, ६ हजार ८ सय पर्ने माक्स ८ हजार ५ सयमा बिक्री


विराटनगर–कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएसँगै संक्रमणको रोकथामका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको समयमा विराटनगरका केही फार्मेसीहरूले स्वास्थ्य सामाग्री र औषधीमा चरम रूपमा कालोबजारी गर्दै आएको पाइएको छ । निषेधज्ञामा नियमनकारी निकायको ध्यान पुग्न नसक्ने मौका छोपेर फार्मेसीहरुले कालोबजारी गर्न थालेका हुन् ।

स्वास्थ्य सामाग्री र औषधीमा कालोबजारी गरेको भन्दैं प्रहरीले एकपछि अर्को फार्मेसी संचालकहरू पक्राउ गरेपछि कालोबजारी चक्र सत्तहमा आएको हो ।

विराटनगर महानगरपालिका– ७ कोशी अस्पताल अगाडि फार्मेसीको नाम परिवतन गरेर सुनसरी दुहबी नगरपालिका–७ का ३७ वर्षीय श्याम चौधरीले स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने गरेको पाइएको हो । उनले चौधरीलाई फार्मेसीलाई ‘अधिकारी फार्मेशी’ नाममा संचालन गरेर स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोपमा मोरङ प्रहरीले शनिबार पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईकाअनुसार पक्राउ परेका चौधरीले ६ हजार ८ सय ८० रुपैयाँ पर्ने सिलिकोन फुल फेस माक्स–एनआइभी माक्स उपभोक्तालाई ८ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेका थिए । पक्राउ परेका चौधरीले विराटनगर–९ का ३१ वर्षीय भुपेन्द्रनाथ अधिकारीलाई एनआइभी माक्स १ हजार ६ सय २० रुपैयाँ बढी मूल्य लिएर बिक्री गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूरअन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको डिएसपी राईले जानकारी दिए ।

यसअघि बिहीबार औषधीमा बिरामी ठगी गरेको आरोपमा प्रहरीले विराट नर्सिङ होम अगाडिको पश्चिमवासी फार्मेसीका संचालक रवीन्द्र महतोलाई पक्राउ गरेको थियो । महतोले बिरामीसँग औषधीमा बढी मुल्य लिएर बिक्री बितरण गरेको प्रहरीले जनाएको थियो । अहिले प्रहरीले महतोमाथि अनुसन्धान गरिरहेको छ ।

महतोको पश्चिमवासी फार्मेसीबाट एक सय रुपैयाँको औषधी खरिद गर्दा बिलमा १ सय ५० रुपैयाँको बनाइएको थियो । फार्मेसी सञ्चालक महतोले विरामीसँग १७ हजार ८ सय ८९ रुपैयाँ बढी लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम कारबाही अघि बढाउन शुक्रबार म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको छ ।

सर्वसाधारण कोभिड–१९ को चपेटामा परिरहेका बेला विराटनगरका फार्मेसीले बिरामीलाई बजार मूल्यभन्दा महँगोमा औषधि बिक्री गरेर चरम कालोबजारी गरिरहेको पाइएको डिएसपी राईले बताए । ‘कोरोना महामारीको चपेटामा सर्वसाधारण छन् । तर, फार्मेसीले भने बजार मूल्यभन्दा महँगोमा औषधी बेच्दै कालोबजारी गरिरहेको पाइयो,’ उनले भने, ‘धेरैतिरबाट गुनासो आएको आधारमा अनुसन्धान थाल्दा औषधीमा भइरहेको कालोबजारीको नयाँ तथ्य फेला प¥यो । बदमासी गरिरहेको सूचनाका आधारमा अरू फार्मेसीमाथि पनि निगरानी बढाइएको छ ।’

मोरङ र सुनसरीका ७ फार्मेसी कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मोरङ र सुनसरीको ७ वटा औषधी पसललाई कारबाही गरेको छ । निषेधाज्ञाको समयमा स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने, खरिद र बिक्री बिल बिजक नदेखाउने औषधी पसलमा अनुगमन गरेर वाणिज्यले कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवही गरेको हो ।

गत आइतबार अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकीसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको थियो । उक्त फार्मेशीले १ सय ६ प्रतिशतसम्म मुनाफा राखेर सेनिटाइजर बिक्री वितरण गर्दै आएको थिए ।

यस्तै, गत मंगलबार सुनसरीको इटहरीमा रहेको थोक बिक्रेता विविता सर्जिकल हाउसले पनि सेनिटाइजरमा कालोबजारी गरिएको भेटियो । भारतीय कम्पनीले उत्पादन गरेको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशतभन्दा बढी मुनाफा राखि बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो । वाणिज्य कार्यालयले उसलाई २ लाख जरिवाना गरेको थियो ।

अहिले विराटनगर, सुनसरीको धरान, इटहरीलगायतको क्षेत्रमा स्वास्थ्य सामाग्रीको अधिक मात्रामा कालोबजारी हुने गरेको छ । स्वास्थ्य सामाग्रीमा कालोबजारी हुने गरेको जनगुनासो बढेपछि वाणिज्यले मोरङ र सुनसरीको ९ वटा फार्मेसीमा अनुगमनको गरेको थियो ।

तीन दिनयता गरेको अनुगमनको क्रममा ७ वटा फार्मेसीले स्वास्थ्य सामाग्रीमा अस्वभाविक मुल्य कायम गरेर कालोबजारी गरेको भेटिएपछि कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्याल प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ