२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा चिरफार नगरी मस्तिष्कको सफल शल्यक्रिया

नोबेलमा चिरफार नगरी मस्तिष्कको सफल शल्यक्रिया


विराटनगर–विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ वर्षीया देवी रानामगरको नाकबाट इण्डोस्कोपी छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो ।

नोबेलका वरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो । नाकको प्वालबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट विना चिरफार ‘पिट्वीटरी ग्राल्न्ड’ को सफल शल्यक्रिया गरिएको वरिष्ठ न्यूरो सर्जन डा. काफ्लेले जानकारी दिए ।

यस्तो शल्यक्रिया बिरामीका लागि निकै लाभदायी हुने डा.काफ्ले बताए । उनी भन्छन्, ‘दुरविनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, बिरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो भएकाले बिरामीलाई सहज हुन्छ ।’

मगरलाई करिब १७ वर्ष अघिदेखि टाउको दुख्ने समस्या सुरु भएको थियो । सधैं नदुख्ने तर, दुखेपछि खपिनसक्नु गरी दुख्ने हुँदा उनी वर्षौ अघिदेखि पीडा झेल्दै आएकी थिइन् । केही दिनअघि निरन्तर टाउको दुखेपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पतालमा परीक्षण गराउँदा मस्तिष्क भित्रको ट्युमर पत्ता लाग्यो ।

डाक्टरले शल्यक्रिया गराउन सुझाव दिएपछि उनी डराएकी थिइन् । ‘अप्रेशन भन्ने बित्तिकै चिरफार गर्नुपर्ने जस्तो लाग्छ, त्यस्तै होला भनेर डर लागेको थियो । तर, बाहिर देखिने गरी कतै घाउ नै नबनाई मस्तिष्कको अप्रेशन हुँदा खुशी लागेको छ,’ मगरले भनिन् ।

अप्रेशनपछि स्वास्थ्यमा सुधार आएपछि उनी अहिले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छन् । टाउकोमा पानी जमेको, दिमागमा रगत जमेकोसहित ट्यूमरहरुको अप्रेशन नोबेलमा दुरविनको माध्यमबाट गरिदैं आएको छ । करिब चार वर्षअघि दक्षिण पूर्वी एसियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ