२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ठेकेदारको ढिलासुस्तीले कोशीमा अक्सिजन प्लान्ट जडान भएन

ठेकेदारको ढिलासुस्तीले कोशीमा अक्सिजन प्लान्ट जडान भएन


विराटनगर–ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले विराटनगरस्थित कोशी अस्पतालभित्र अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ । गम्भीर लक्षण भएका कोभिड–१९ संक्रमितको उपचारमा अक्सिजन आवश्यक भइरहेका बेला कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ठेकेदारले ढिलाइ गरेको हो ।

नेपाली चिकित्सकहरूको संस्था अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा काठमाडौंस्थित डाइनोक्यामले ठेक्का पाएको छ । ठेक्का पाएर काम सुरू गरेको लामो समय भइसक्दा पनि अहिलेसम्म प्लान्ट जडान हुन सकेको छैन ।

अक्सिजन प्लान्टको लागि कोशी अस्पताल परिसरभित्र संरचना बनिसक्दा पनि ठेकेदार कम्पनीले तेस्रो मुलुकदेखि उपकरण ल्याउन ढिलाइ गरेको कारणले प्लान्ट जडानमा ढिलाइ भएको हो । मंसिरमा सम्झौता भएर २५ वैशाखभित्र कोशी अस्पतालमा अक्सिजन जडान गर्ने समझदारी भएको थियो । तर, सम्झौता अवधि सकिदा पनि अहिलेसम्म अक्सिजन प्लान्ट निर्माण भएको छैन ।

हाल संक्रमित बिरामीको चाप बढ्दै जाँदा अस्पताल प्रशासनलाई अक्सिजनको व्यवस्थापन गर्न हम्मे परेको छ । दैनिक ३० देखि ३५ जना संक्रमित भर्ना भइरहेकामा एक बिरामीलाई कम्तीमा २ देखि ३ सिलिन्डर अक्सिजन आवश्यक पर्छ । दैनिक कम्तीमा १ सय सिलिन्डर खपत हुनुका साथै थप त्यति नै संख्यामा जगेडामा राख्नुपर्ने कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

उनकाअनुसार संक्रमितकै उपचारमा दैनिक ठूलो संख्यामा अक्सिजन सिलिन्डरको आवश्यकता परेको बताए । यसबाहेक अन्य गम्भीर बिरामीलाई पनि अक्सिजनको आवश्यकता पर्दा व्यवस्थापन गर्न समस्या भइरहेको उनको भनाइ छ । आफ्नै प्लान्ट भए यो झन्झटबाट मुक्ति मिल्ने उनले बताए । अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरेर अक्सिजन खरिद गर्दै आएको छ ।

कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलले अक्सिजन प्लान्ट जडान नहुँदा समस्या भएको बताए । ‘अहिले अस्पतालमा अक्सिजनको चरम आवश्यकता छ । यस्तै समस्या नहोस् भनेर चिकित्सकहरूको संस्थाले १ करोड ७ लाख रूपैयाँ पनि दिइसकेको छ । रकम निकास भएपछि चाँडै काम सम्पन्न हुनुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म हुन सकेको छैन ।’

अहिले संक्रमितलाई अक्सिजन आवश्यक परिरहेकोले चाडो प्लान्ट जडान गरिदिन हामीले भन्दै आएको उनले बताए । कोशीमा अक्सिजन प्लान्ट जडान भएपछि दैनिक ३ सय सिलिण्डर उत्पादन हुने अपेक्षा गरिएको छ । ३ सय सिलिण्डर दैनिक उत्पादन हुँदा कोशी कोभिड युनिटमा भर्ना भएका संक्रमितको उपचारमा सहज हुने अस्पतालले जनाएको छ ।

कोशीमा अक्सिजन प्लान जडानको ठेक्का पाएको डाइनोक्यामका एमडी विज्ञान अर्यालयले अक्सिजन उत्पादन गर्ने उपकरण कलकत्ता आइपुगेको थप केही दिन समय लाग्ने बताए । ‘अक्सिजन उत्पादन गर्ने उपकरण स्लोभाकिया भन्ने देशबाट आउन नै समय लाग्यो । अहिले भारतको कलकत्ता आइपुगेको छ,’ उनले भने, ‘ढिलोमा एक साता भित्रमा कोशीमा अक्सिजन प्लान्ट जडान भइसक्छ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ