२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १९० रूपैयाँको ‘स्टासेफ’ लाई रेम्डेसिभिर भन्दै बेच्ने गिरोह २ लाख धरौटीमा रिहा

९० रूपैयाँको ‘स्टासेफ’ लाई रेम्डेसिभिर भन्दै बेच्ने गिरोह २ लाख धरौटीमा रिहा


विराटनगर–९० रूपैयाँको ‘स्टासेफ’ लाई रेम्डेसिभिर भन्दै ८ देखि २४ हजार रूपैयाँसम्म बिक्री वितरण गर्ने गिरोहका मुख्य नाइके धरौटीमा छुटेका छन् । विराटनगरमा नक्कली रेम्डेसिभिर बनाएर कोभिड–१९ संक्रमतिको उपचारका लागि बिक्री गर्ने गिरोहका मुख्य नाइके विराटनगर – ४ नोबेल अस्पताल अगाडिको साथी फार्मेसीका सञ्चालक २६ वर्षीय सोनु आलम दुई लाख धरौटीमा रिहा भएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको इजालासले आलमलाई धरौटीमा छोडन आदेश दिएको हो । आदेशपछि प्रशासनले तोकेको धरौटी रकम बुझाएर बिहीबार रिहा भएका हुन् ।

गत २४ बैशाखमा विराटनगरबाट साथी फार्मेसीका सञ्चालक सोनु र उनका सहयोगी नक्कली रेम्डेसिभिर बनाएर चर्को मूल्यमा बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका आलम र सहयोगी विराटनगर–१६ का २३ वर्षीय श्रवणकुमार यादवलाई मोरङ प्रहरीले ‘कालोबजारी ऐन, अन्तर्गतको मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्दै आएको थियो ।

प्रहरीको अनुसन्धानबाट फार्मेसी संचालक आलमसहितको गिरोहले ज्वरो आँउदा तथा छात्ती दुख्दा प्रयोग हुने ‘स्टासेफ’ नामक ९० रुपैयाँको एन्टिबायोटिक इन्जेक्सनको बोतलमा रेम्डेसिभिरको लेभल लगाएर ८ देखि २५ हजार रुपैयाँमा बिक्री गर्दै आएको खुलेको थियो । आलमले ८ हजार रुपैयाँले नक्कली रेम्डेसिभिर २ सय ५० थान बिक्री गरेको खुलेको छ । एन्टिबायोटिकको बोतलको साइज (आकार) सँग मिल्ने हुनाले गिरोहलाई स्टिकर लगाएर नक्कली रेम्डेसिभिर तयार पार्न सजिलो भएको अनुसन्धानबाट पत्ता लागेको थियो ।

कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएयता विराटनगरमा रेम्डेसिभिरको अभाव छ । चरम अभाव भएको र माग धेरै आएको मौका छोप्दै भारतको पटनाबाट नक्कली स्टिकर झिकाएर आलम र यादवले होटलको कोठा भाडामा लिँदै नक्कली रेम्डेसिभिर तयार गर्ने गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।

नक्कली रेम्डेसिभिर बनाउन प्रयोग गरिएको ‘स्टासेफ’को खुद्रा बजार मूल्य ९० रुपैयाँ पर्छ । ९० रुपैयाँको औषधीलाई नक्कली रेम्डेसिभिरका बनाएर हजारदेखि २५ हजार रुपैयाँसम्ममा किनबेच भएको थियो ।

पक्राउ परेका यादवको हकमा भने उनलाई कोभिड–१९ संक्रमण देखिएकोले मुद्दा यथावत रहेको छ । संक्रमण ठिक भएपछि प्रहरीले उनको मुद्दा प्रशासनमा बुझाउने भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ