२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पतालबाट काम सकेर घर जाँदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट

अस्पतालबाट काम सकेर घर जाँदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीद्वारा कुटपिट

कुटपिट गर्ने प्रहरीलाई कारवाही हुन्छ : एसपी खड्का


विराटनगर–काम सकेर घर जाँदै गरेको विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीलाई ड्युटीमा खटिएका दुई जना प्रहरीले कुटपिट गरेका छन् ।

कोशी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चोकमा ड्युटीमा खटिएको प्रहरीले कुटपिट गरेका हुन् । उनलाई मोरङ प्रहरीबाट खटिएका दुई जना प्रहरीले कुटपिट गरेका हुन् ।

कोशी अस्पतालमा काम सकेर पूरा गरेपछि घर जाँदै गर्दा ड्युटीमा खटिएका प्रहरीले एक्कासी कुटपिट गरेको स्वास्थ्यकर्मी राजवंशीको भनाइ छ ।

‘काम सकेर पूरा गरेपछि घर जाँदै थिए । देवकोटा चौकमा पुगेपछि प्रहरीले रोक भन्नुभयो । म रोकिएपछि मलाई एक्कासी नसोधी हातमा बोकेको भाटाले कुटन थाल्नुभयो । आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा–गराउँदै पनि ड्युटीमा खटिएका दुई जना प्रहरीले भाटाले निर्घात कुटपिट गर्नुभयो,’ स्वास्थ्यकर्मी राजवंशीले भने, ‘ड्युटीमा खटिनुभएको कमाण्डरले नकुटभन्दा भन्दै पनि ड्युटीमा खटिनुभएको प्रहरीले कुटपिट गर्नुभयो ।’ प्रहरीको कुटाइदेखि राजवंशीको खुट्टा र घोडामा चोटपटक लागेको छ ।

राजवंशी कोशी अस्पतालका एनेस्थेसिया टेक्निसियन हुन् । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीको कारवाहीको परेको बताएका छन् । ‘चेकजाँचको क्रममा मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढन खोज्नुभएपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भने, ‘घटनाको विषयमा थप बुझने कामहरू भइरहेको छ ।’

कुटपिट गर्ने प्रहरीलाई कारवाही हुन्छ : एसपी खड्का

ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएका छन् । स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोशी अस्पतालमा बैठक बसेको थियो ।

बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरामा ल्याउने एसपी खड्काले जानकारी गराउनुभएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘कुटाइ खाने स्वास्थ्यकर्मीले जाहेरी दिएपछि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्ने भनेर अहिले भर्खर सकिएको बैठकमा जानकारी गराएर जानुभएको छ,’ मेसु दासले भने, ‘स्वास्थ्यकर्मी राजवंशीले पनि घाउँ जाँच गरेपछि जाहेरी दिन मोरङ प्रहरी कार्यालय जानुहुनेछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ