२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हृदयघात भएका संक्रमितको नोबेलमा सफल शल्यक्रिया

हृदयघात भएका संक्रमितको नोबेलमा सफल शल्यक्रिया


विराटनगर – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोभिड संक्रमित भएर भर्ना भएका एक जना पुरूषको हृदयघातको सफल एन्जियोप्लाष्टि गरिएको छ । हृदयघात भएर अस्पताल भर्ना भएका इटहरी–३ का ५५ वर्षीय संक्रमित पुरुषको सफलतापूर्वक एन्जियोप्लाष्टि गरिएको हो ।

नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डा.राजेश नेपाल, डा.सुशान्त कटुवाल लगायत चिकित्सकहरुको टोलीले संक्रमितको शल्यक्रिया गरेको हो । एक साताअघि कोरोना कोभिड-१९ संक्रमण पुष्टि भएका उनी घरमै होम आइसोलेशन बसेका थिए ।

आकस्मिक रुपमा छाती दुख्न थालेपछि उनलाई नोबेल अस्पताल भर्ना गरियो । परीक्षण गर्दा हार्टअट्याक भएको देखिएपछि तत्काल प्राइमरी एन्जियोप्लाष्टि गरिएको नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डा.नेपालले बताए ।

‘होम आइसोलेशनमा बसेका बेला चेस्टपेन भएर अस्पताल ल्याउँनु भएको थियो । सुरुमा मुटुको इसीजी गर्दा हार्टअट्याक देखियो । त्यसपछि एन्जियोग्राफी गर्दा मुटुको देव्रे नशा पूर्ण रुपमा ब्लक देखिएपछि एन्जियोप्लाष्टि गरेर ब्लकेज खोलेका छौं,’ डा.नेपालले भने, ‘यस्तो अवस्थामा अरु रिपोर्ट पर्खन थाल्यो भने विरामीको मुटु झन–झन कमजोर हुँदै गएर ज्यान जान्छ । त्यसैले बिरामीको ज्यान बचाउँन कोरोना संक्रमित थाहा पाउँदा–पाउँदै पनि स्वास्थ्य सावधानी अपनाएर प्राइमरी एन्जियोप्लाष्टि गरेका हौं ।’

संक्रमितको खुट्टाको नशाबाट सुक्ष्म तार छिराएर मुटुको ब्लक खोली त्यहाँ जाली लगाइएको हो । चिकित्सकहरुले पीपीई लगाएर पूर्णरुपमा स्वास्थ्य सावधानी अपनाई एन्जियोप्लाष्टि गरेका हुन् । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य छ ।

त्यस्तैगरी, मोरङको कानेपोखरी घर भएका ४८ वर्षीय संक्रमित पुरुषको पनि नोबेलमा एन्जियोग्राफी गरिएको छ । उनमा चार दिनअघि कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

छाति दुखेर अस्पताल भर्ना भएका संक्रमितको एन्जियोग्राफी गर्दा मुटुको नशा सामान्य ब्लक देखिएकाले थप उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।  यसअघि दुर्घटना भएर मस्तिष्कमा रगत जमेर आएकी सुनसरीको बर्जु गाउँपालिका–४ की ३८ वर्षीया संक्रमित महिलाको पनि नोबेलमा सफल शल्यक्रिया गरिएको थियो ।

संक्रमितलाई अन्य स्वास्थ्य समस्या हुँदा ज्यान थप जोखिममा हुँने भएकाले उनीहरुलाई जस्तोसुकै उपचार गर्न पनि नोबेल तयार रहेको नोबेलका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ