२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ सरकारको बजेट : स्वास्थ्यमा मात्रै ३ अर्ब २५ करोड

प्रदेश १ सरकारको बजेट : स्वास्थ्यमा मात्रै ३ अर्ब २५ करोड


विराटनगर – प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगमी आर्थिक वर्षको बजेट ल्याएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य क्षेत्रका निमित्त ३ अर्ब २५ करोड बजेट छुट्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले मङ्गलबार प्रदेश सभामा आर्थिक वर्षको ३२ अर्ब ४६ करोड ९२ लाख बजेट विनियोजन गरेको भाषण वाचन गर्दै स्वास्थ्य क्षेत्रको सुधारका निमित्त ३ अर्ब २५ करोड रुपैयाँ छुट्याएको जानकारी दिएका हुन् ।

त्यस्तै, प्रदेश सरकारले कोशी कोभिड अस्पताललाई कोभिड-१९पछि प्रादेशिक प्रसुती गृह बनाउने घोषणा गरिसकेको छ । मन्त्री आङबुहाङले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ४४ करोड विनियोजन गरेको बताए ।

‘गुणस्तरीय स्वास्थ्य सेवा, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने मुल नाराकासाथ प्रदेश मातहतका सबै अस्पतालहरूको गुरूयोजना तयार गरी अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण गर्न बजेट विनियोजन गरेको छ ।

यस्तै, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक यन्त्र, उपकरण, औजार र पूर्वाधारसहित मेची अस्पतालमा २०० शैय्या विस्तार गरिने भएको छ ।

यस्तै, प्रदेश सरकारले धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १००/१०० शैय्या र अन्य जिल्ला अस्पतालहरूलाई न्यूनतम ५० शैय्यामा स्तरोन्नति गर्ने भएको छ । प्रमुख स्थानमा रहेका र सेवा सघनता भएका अस्पतालमा आई.सि.यू., सी.सी.यू, एच.डी.यू. र भेन्टिलेटरसहित आफ्नै अक्सिजन उत्पादन गरिने भएको छ ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीको स्तरोन्नति तथा प्रदेशका प्रमुख स्थानमा रहेका अस्पतालहरूलाइ विस्तारित गरी रेफर अस्पतालको रुपमा विकास गर्दै जिल्ला अस्पताल र रेफरल अस्पतालमार्फत टेली–मेडिसिन सेवा आरम्भ गरिने भएको छ । विशेषज्ञ स्वास्थ्य सेवा तथा अनुभव आदान-प्रदान गर्न निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्ने भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ