२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वीकृती विना कोभिड बिरामीको उपचार गर्ने आयुर्वेदिक औषधी पसल सिलबन्दी

स्वीकृती विना कोभिड बिरामीको उपचार गर्ने आयुर्वेदिक औषधी पसल सिलबन्दी


विराटनगर – औषधी व्यवस्था विभागको स्वीकृती विना नै मोरङको रतुवामाइ नगरपालिका – २मा अवस्थित दिपेन्द्र आयुर्वेदिक औषधी पसलले कोभिड-१९ संक्रमितको उपचार गर्ने गरेको पाइएको छ । आयुर्वेदिक पसलका संचालक राजेन्द्र यादवले पैसाको लोभमा आफ्नो क्षेत्रअधिकारभन्दा बाहिर गएर बिरामीको उपचार गर्ने गरेको पाइएको हो ।

आयुर्वेदिकमा दर्ता भएको पसलले एल्लोपेथी औषधी संचय गरी ग्रामिण भेगका बिरामीको उपचार गरेको औषधी व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा फेला पारेको छ । आयुर्वेदिक पसलको दर्ता स्वीकृत लिएर क्षेत्र अधिकारभन्दा बाहिर गएर काम गरेको र अनुचित रुपमा एल्लोपेथिक औषधी संचय गरेको भेटिएपछि विभागले यादवको पसल सिलबन्दी गरी निलम्बनमा राखेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

‘बिरामीले दिएको उजुरीको आधारमा हामीले अनुगमन गरेका हौं,’ कट्टेलले भने, ‘अनुगमनको क्रममा विभागदेखि आयुर्वेदिक पसलको स्वीकृत लिएर एल्लोपेथिक औषधीको संचय र विरामीको उपचार गरेको भेटियो ।’ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै उपचार गरेको भेटिएपछि आयुर्वेदिक पसललाई प्रराम्भिक चरणमा निलम्बन गरी थप अनुसन्धान सुरु गरेको विभागले जनाएको छ ।

रतुवामाइ नगरपालिका – २ का ४५ वर्षीय एकजना पुरूष हनहनी ज्वरो आएको यादवको आयुर्वेदिक पसलमा गएका थिए । उनलाई  संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखा परेको थियो । संचालक यादवले पैसाको लोभले उपचार गरे निको हुने भन्दै ती बिरामीको उपचार सुरू गरेका थिए ।

बिरामीलाई निको हुनुको साटो स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो । ३ असारमा उनको स्वास्थ्य समस्या हुँदै गएपछि विराटनगरको अस्पताल रेफर गरे । विराटनगरमा आएर स्वाब दिए । कोशी अस्पतालको ल्याब परीक्षणमा रिपोट पोजेटिभ आयो । त्यसपछि अस्पतालमा उपचार सुरू भयो । अहिले उनको स्वास्थ्य अवस्था सामन्य रहेको छ ।

‘आयुर्वेदिक पसलको उपचारको भर परेको भए बिरामीको ज्यान जान सक्ने रहेका छ,’ संक्रमितका एक जना आफन्तले भने, ‘यसरी बिरामीको स्वास्थ्य अवस्थामाथि गम्भिर खेलवाड गर्नेलाई कारवाहीको दायरमा ल्याउनु पर्दछ ।’ बिरामीका आफन्तले लापरवाहीपूर्ण तरिकाले काम गर्ने आयुर्वेदिक पसललाई कारवाहीको दायरामा ल्याउन माग राखेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ