२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधीको दुरूपयोग बढ्दो, लागूऔषध प्रयोगकर्तालाई बेच्छन् औषधी

औषधीको दुरूपयोग बढ्दो, लागूऔषध प्रयोगकर्तालाई बेच्छन् औषधी


विराटनगर-कमाउधन्दामा लागेका केही फार्मेसी संचालकहरूको बदमासीका कारण बिरामीले सेवन गर्ने औषधीको प्रदेश १ मा चरम दुरूपयोग हुने गरेको पाइएको छ । केही फार्मेसी संचालकहरूले औषधीको अनुचित प्रयोग गरी लागूऔषध दुर्व्यसनीहरूलाई बेच्ने गरेको पाइएको हो ।

यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । औषधी व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सुचनाको आधारमा अनुगमन गर्ने क्रममा औषधीको चरम दुरूपयोग गर्ने गरेको फेला पारेको छ ।

औषधी व्यवस्था विभाग विराटनगले बिहीबार सुनसरी धरानका एकजना फार्मेसी संचालकले औषधीको अनुचित रूपमा दुरूपयोग गर्दै लागुऔषध बनाएर बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१८ घोपा क्याप अगाडिको बिम्ब फार्मेसीका संचालक नविन राईले औषधीको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा विभागले पक्राउ गरेको हो ।

धरान–११ सयपत्री चोकस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेसी संचालक राईले औषधीको अनुचित रुपमा दुरूपयोग गर्ने गरेको खुलेको थियो । त्यही भएर विभागको टोलीले उनलाई पक्राउ गरेको हो ।

लागूऔषध प्रयोगकर्ता मुकेशलाई पक्राउ गरेपछि उनले दिएको बयानको आधारमा फार्मेसी संचालक राई पक्राउ गरेको औषधी व्यवस्था विभाग विराटनगरले जनाएको छ । यसअघि केही फार्मेसीहरुले टामाडोललाई लागूऔषध बनाएर बिक्री वितरण गर्दै आएकोमा अहिले अपोट्याब, ईसपाजमो र फोक्सिबो नामको औषधी मिक्स गरी लागूऔषधको रुपमा बिक्री वितरण गर्ने गरेको अनुसन्धानदेखि खुलेको विभागका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

‘यसअघि ट्रामाडोल औषधी मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण हुने गरेको थियो,’ फार्मेसी निरीक्षक खड्काले भने, ‘अहिले नयाँ तथ्य खुल्न आयो । अहिले दुखाइ कम गर्ने ओपोट्याब, ईसपाजमो र फोक्सिबोन क्याप्सुल मिक्स गरी लागूऔषध बनाएर बिक्री वितरण गर्ने गरेको भेटिएको छ ।’ पक्राउ परेकाहरूलाई विभागले औषधी ऐन, २०३५ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि पनि नेपाल औषधी व्यवसायी संघ उदयपुरका महासचिव वीरेन्द्रकुमार झाले होलसेल औषधी पसल खोलेर औषधीको अनुचित प्रयोग
गरि लागूऔषध प्रयोगकतालाई औषधी विक्री–वितरण गर्ने गरेको पाइएको थियो । उदयपुरको चौदण्डीगढी नगरपालिका – ७ मा गोपीकृष्ण मेकिडल हल औषधीको होलसेल पसल खोलेर झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधी विक्री–वितरण गर्ने गरेको विभागले गरेको अनुगमनको क्रममा भेटेको थियो ।

संघका महासचिव रहेका झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधी लागूऔषध प्रयोगकर्तालाई विक्री–वितरण गर्ने गरेको फेला परेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जीव शर्मा कट्टेलले जानकारी दिए ।

यी तीनवटा औषधी मिलाएर लागूऔषधको रूपमा सेवन गर्दछन् । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधीसँग मिसाएर सेवन गर्दा लागुऔषधको काम गर्ने उनको भनाइ छ । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । प्रिगाभालिन नशा च्यापिएका बिरामीले प्रयोग गर्दछन् । यस्तै, ट्रामाडोल क्यान्सरका बिरामीले दुखाइ कम गर्न र डाइसाइक्लोमाइन औषधी दुखाइ कम गर्न बिरामीले सेवन गर्ने गरेको विभागले जनाएको छ ।

तर, कमाउ धन्दामा लागेका संघका महासचिव झाले महंगो मूल्य दुर्व्यसनीलाई दिने गरेको भेटिएको विभागका प्रमुख शर्माले जानकारी दिए । झाको पसलबाट औषधी खरिद गर्ने लागूऔषध दुर्व्यसनीलाई पनि विभागले पक्राउ गरेको थियो । विभागले उदयपुरको बेलका नगरपालिकाको १८ वर्षीय पर्शुराम दर्जीलाई पक्राउ गरेको थियो ।

दर्जी पक्राउ परेपछि संघका महासचिव झाले औषधीको अनुचित प्रयोग गर्ने गरेको खुलेको हो । लागूऔषध प्रयोगकर्तालाई औषधीको अनुचित प्रयोग गर्दै विक्री गर्ने झाको पसल अर्को निर्णय नभएसम्मको लागि सिलबन्दी र उनलाई औषधी व्यवस्था विभागले औषधी ऐन, २०३५ अनुसार कारवाहीको दायरामा ल्याउने निमित्त कार्यालय प्रमुख कट्टेलले जानकारी दिए । महासचिव झाले १५ देखि ३० वर्ष उमेर समूहका युवाहरूलाई महंगो मूल्य लिएर औषधी विक्री–वितरण गरेको विभागले जनाएको छ ।

यसअघि पनि लागूऔषध प्रयोगकर्तालाई झाले औषधीको अनुचित प्रयोग गर्दै विक्री–वितरण गर्ने गरेको भेटिएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ