२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले सुरु गरे रिले अनशन

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले सुरु गरे रिले अनशन


विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले रिले अनशन थालेका छन् । दुई सातादेखि निरन्तर आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघि सार्दै सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका हुन् ।

संयुक्त संघर्ष समितिका संयोजक एवं प्रतिष्ठानका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा रिले अनशन सुरु भएको हो । पहिलो दिनको अनशनमा डा. पोरखेलसहित डा. पदम नेपाली, डा. अमृत जैसी, ज्योति बोगटी, सुवास बन्जाडे छन् ।

यसअघि १३ दिनसम्म आन्दोलनकारीले प्रतिष्ठान र धरान नगरमा जुलुस प्रदर्शन गर्दै आएका थिए । प्रदर्शनलाई पदाधिकारीले वेवास्ता गरेको भन्दै आन्दोलनकारीले आइतबार पदाधिकारीहरुले चढ्दै आएको गाडीको चाबी खोसेका थिए । ‘आन्दोलनलाई पदाधिकारीले वेवास्ता गरेपछि हामी अनशनमा जान बाध्य भयौं,’ जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले भने, ‘माग पूरा नभएसम्म अनशन निरन्तर रहनेछ ।’

दुई सातादेखि निरन्तर आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानको आर्थिक, प्रशासनिक, शैक्षिक शुद्धीकरणको माग अघि सारेका छन् । लामो समयदेखि चलेको आन्दोलनलाई उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले वेवास्ता गरेको आरोप आन्दोलनकारीको छ ।

तर, प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने उपकुलपति प्रतिष्ठानको कामले काठमाडौंमा रहेको र फर्कने दिन कुरेर बसेको जानकारी दिएका छन् । उपकुलपतिको शैक्षिक योग्यता सार्वजनिक गर्न आन्दोलनकारीले माग गरेपछि वार्ता अघि बढ्न नसकेको रेग्मीको भनाइ छ ।

आन्दोलनकारीले नामका अघि प्राध्यापक लेख्ने उपकुलपति गिरीको प्राध्यापक पदवीको प्रमाण देखाउन चुनौती दिँदै आएका छन् । यसबाहेक शैक्षिक र प्रशासनिक सुधार उनीहरुको मुख्य माग छ ।

प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ