२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी


विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानको चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बुधबार आन्दोलनरत प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरुले चार जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने र प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर १६ दिनदेखि आन्दोलनमा उत्रिएका उनीहरुले उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । मंगलबार आन्दोलनरत पक्षसँग वार्ता सुरु भएकोमा उपकुलपति गिरीले मादक पदार्थ सेवन गरी चिकित्सक, नर्स र कर्मचारीलाई दुर्व्यवहार गरेपछि प्रतिष्ठानमा तनाव उत्पन्न भएको थियो ।

वार्तामा मापसे गरेर आएका उपलकुलपतिले अभद्र व्यवहार गरेपछि मध्यरातसम्म चिकित्सक र कर्मचारीहरुले पदाधिकारीविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुलाई कार्यकक्षमै थुनेर मापसे चेक गर्नुपर्ने माग भएपनि इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोलीले बाहिर निकालेको थियो ।

आन्दोलनकारीले देशकै अग्रणी संस्था प्रतिष्ठानलाई धरासायी बनाउन पदाधिकारीहरुको मुख्य हात रहेकाले छानविन समिति गठन गरी कारवाही गर्नुपर्ने माग राखेका छन् । माग पूरा नभएसम्म तालाबन्दी नखोल्ने र पदाधिकारीसँग कुनै वार्ता पनि नहुने प्रतिष्ठानको संघर्ष समितिका अध्यक्ष डा. सुर्यप्रसाद रिमालले बताएका छन् ।

प्रतिष्ठानको हित विपरित काम गर्ने चारैजना पदाधिकारीलाई बर्खास्त गर्न र मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न आन्दोलनकारीले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेका छन् । आन्दोलनको क्रममा चिकित्सक र कर्मचारी तीन दिनदेखि रिले अनसनमा छन् ।

प्रतिष्ठानको बेथितीबारे कर्मचारी र डाक्टर आन्दोलित भएका बेला संघीय र प्रदेश सरकार समेत चुप लागेर बस्नु अत्यन्तै दुःखद भएको प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले बताए । अक्षम नेतृत्वको कारण प्रतिष्ठान ९० करोड घाटामा गएकोले त्यसको छाननविन हुनुपर्ने उनको भनाइ छ ।

प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले उपकुलपतिले कार्यकक्षमा मादक पदार्थ सेवन गरेर वितण्डा मच्चाउदा कार्वाही नहुनुको कारण स्पष्ट पार्नुपर्ने बताए ।

प्रतिष्ठानको संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिँदै आफ्ना माग सम्बोधन नगरे सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाडौं जाने घोषणा गरेको छ । यसअघि अस्पताल निर्देशक प्रा डा गौरीशंकर साह, रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष प्रा डा गुरु खनालको गाडीको चाबी खोसिएका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ